मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा मंगलबारसम्म ४७ जना कोरोना संक्रमित पुगेका छन् । बैशाख २७ गते जिल्लाको मायादेवी गाउँपालिकामा पहिलो पटक तीन जनामा कोरोना देखिएपछि सुरु भएको संक्रमित भेटिनेक्रम मंगलबारसम्म ४७ पुगेको हो । अहिले जिल्लाका ९ स्थानीय तहमा कोरोना फैलिसकेको छ । झण्डै ८ हजारको हारहारी क्वारेनटाइनमा छन् । यी सबै भारतका विभिन्न स्थानबाट आएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणको जिल्ला सिल सोमबारबाट पुनः गरेको छ ।
कोरोना जोखिम न्यूनिकरणका लागि भन्दै प्रशासनले जेष्ठ २० गतेसम्म जिल्लालाई सिल गरेको हो । हप्ताको तीन दिन सोमबार, बुधबार र शनिबार तीन घण्टाका दरले अत्यावश्यकीय सामग्री बेच्ने पसल सञ्चालन गर्ने गरि कोरोना नियन्त्रणका लागि प्रशासनले कठोर निर्णय लिएको हो ।
जिल्लाका क्वारेनटाइनमा बस्ने एकाएक बढेपछि स्थानीय सरकारलाई तनाव छ । प्रयाप्त किट छैन् । कोरोना परिक्षण ढिलो भैरहेको छ । क्वारेनटाइनमा बस्नेहरुले तत्काल कोरोना जाँच गर्न माग गरिरहेका छन् । तर, कपिलवस्तुबाट प्रदेश ५ का प्रतिनिधित्व गर्ने सांसदहरुले भने मंगलबार गज्जवको निर्णय गरेका छन् ।
जिल्लाका ८ सांसदहरुको तौलिहवामा बसेको संयुक्त बैठकले विभिन्न १० बुँदामा निर्णय गरेका छन् । कतिपय निर्णय सकारात्मक छन भने कतिपय प्रशासन कार्यालयले गरेको जिल्ला सिलसंग बाझिने खालका रहेका छन ।
प्रदेश सांसदहरुले बैंक तथा वित्तिय संस्थाहरुलाई समय तालिका मिलाएर खोलाउन पहल गर्ने निर्णय गरेका छन् । उद्योग भित्रै खाने बस्ने व्यवथा गरी उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न पहल गर्ने, उपभोक्ता समिति र मेशिनले गर्ने विकास निर्माणका कार्यलाई सुरक्षा सर्तकता अपनाउँदै सञ्चालन गर्न पहल गर्ने लगायतका निर्णय प्रदेश सांसदहरुले गरेका छन् ।
प्रदेश सांसदले गरेका यी निर्णय केन्द्र सरकारले पनि गर्न दिने भनेको छ । सरकारले जेष्ठ २० गतेसम्म लकडाउन गरेपनि यी निर्णय पूववत रुपमै सञ्चालन गर्न सकिने बताएको छ ।
तर, कपिलवस्तु अहिले सामान्य अवस्थामा छैन् । कोरोनाको इपिसेन्टर नै बनेको जिल्लामा प्रदेश सांसदले गरेका निर्णय सञ्चालन गर्ने हो भने स्थिति विकराल बन्न सक्नेमा सरोकारवाला आशंका व्यक्त गर्छन ।
‘लकडाउनको पूर्ण पालना गरौं भन्दा अधिकांश व्यक्तिले अटेरी गरे, सुरक्षाकर्मीले सम्हाल्नै सकेनन्, अहिले कोरोनाका संक्रमित भटाभट बढेपछि बल्ल मान्छेहरु डराउन थालेका छन्, एक नागरिक अगुवाले मायादेवीसंग भने, अहिले प्रदेश सांसदले गरेका यी निर्णय कार्यान्वयन गर्ने हो भने कसैलाई सम्हाल्न सकिने स्थिति हुन्न । सबै सवारीमा हुइँकिन्छन, सबैले विकासका काम गर्न हिडेको भन्छन, बैंकमा पैसा निकाल्न जाँदैछु भन्छन ।’
अझै आत्तिनु हुँदैन, लकडाउन कडा बनाउनुको अहिले विकल्प नै छैन्, उनले मायादेवीसंग भने ।’
प्रतिक्रिया