१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

स्टाफ नर्समा कोरोना हरायो, डाक्टर भन्छनः नर्सले कोरोनालाई जितिसकिन् !



मायादेवी अनलाइन, तौलिहवा ।
आठ दिन अघि कोरोना संक्रमित पुष्टी भएकी कपिलवस्तु अस्पतालमा कार्यरत २५ बर्षीया स्टाफ नर्सको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत बैशाख २७ गते उनीसहित कपिलवस्तु नगरपालिकाका १ सय ३ जनाको स्वाब संकलन गरिएपछि नर्ससहीत ८ जनाको कोरोना पोजेटिभ देखिएको थिए । अस्पतालको आइसोलेसनमा उपचारत नर्सको दोश्रोे पटक गत बैशाख १ र तेश्रो पटक गत बैशाख ४ गते पुनः स्वाब संकलन गरी प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

अहिले दुबै रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेसु डा. गणेश क्षेत्रीले बताए । ‘नर्सको अवस्था सामान्य छ र अहिले पनि उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन’ उनले भने ।

कोरोना सम्बन्धी बिश्व स्वास्थ्य संगठनले जारी गरको निर्देशिका र मापदण्ड अनुसार अहिले नर्स पूर्णरुपमा निको भएको डाक्टर क्षेत्रीले बताए । आइसोलेसनमा राखेको १४ दिन पुगे पछि नर्सलाई घर फर्काइने उनले बताए । अस्पतालको प्रसुति शाखा र बार्डमा कार्यरत नर्सलाई कसरी कोरोना सरेको हो भन्न अझै पत्ता नलागेको उनले बताए ।

लकडाउनका बेला तौलिहवा रहेको घरबाट उनी आउँजाउँ गर्थिन । आइसोलेसनमा रहेकी नर्सलाई अब छिट्टैै काममा फर्काउने उनले बताए । नर्ससंग नजिक रहेर काम गरेको तथा नर्सका परिवार गरी १ सय ११ जना कै रिपोर्ट नेगेटिभ आएपछि बुधवारदेखि कपिलवस्तु अस्पताल नयाँ ढंगले संचालन गरिने भएको छ ।

नर्स संक्रमित भैसके पछि गत शुक्रवारबाट सेवा बन्द छ । अस्पतालको मंगलवार पूर्ण निर्मलीकरण गरिएकाले र बुधवारदेखि सेवा प्रारम्भ गरिने डाक्टर क्षेत्रीले बताए । संक्रमणलाई मध्यनजर गर्दै फोन मार्फत प्रि बुकिङ गरी ओपीडी लगायका सेवाहरु दैनिक ४० जनालाई दिने गरी निर्णय भएको उनले बताए । एक बिरामीको एक कुरुवा मात्र राख्न दिने तथा आकस्मिक र प्रसुती सेवा चोबिसै घण्टा खुला रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ६ : ५८ बजे