१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मीका संक्रमितको पुनः कोरोना परीक्षणको तयारी



काठमाडौं ।
गुल्मीको मदाने गाउँपालिका फुर्कोटका शिक्षकको पुनः कोरोना परीक्षण हुने भएको छ।

वैशाख अन्तिम सातादेखि ज्वरो, रुघाखोकी तथा जन्डिस देखिएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय उनलाइ सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।

१०–१५ दिन अघिदेखि ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मिर्गौला समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो।

जेठ १ गते एक जना आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कसम्म आएका उनलाई त्यहाँबाट एम्बुलेन्स मार्फत क्रिमसन अस्पताल ल्याइएको थियो।

जेठ १ गते रातिदेखि नै अस्पतालको आइसियुमा राखी उपचार गराइरहेका उनको कोरोना आशंकामा २ गते परीक्षणको लागि स्वाव संकलन गरिएको थियो।

अस्पतालमा उपचाररत दुई जनाको स्वाव संकलन गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको भने पोजेटिभ आएको थियो। तर परिवारका सदस्य र गाउँलेहरु समेत उनमा कोरोना भएको हुन नसक्ने भन्दै पुनः परिक्षण गर्न माग गरेपछि अहिले स्वाव संकलन गर्न लागिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले आफन्तको माग बमोजिम पुनः परीक्षणको लागि उनको स्वाव संकलन गर्न लागिएको जानकारी दिए।

‘आफन्तबाट पुनः कोरोना परीक्षण गर्न आग्रह गरिएपछि अहिले साथीहरु स्वाब संकलनको लागि अस्पताल जानुभएको छ’ उनले भने। घरबाट कतै नगएको व्यक्तिलाई कसरी कोरोना लाग्यो आश्चर्यमा परेकाले पुनः परीक्षण गर्न आग्रह गरिएको मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए।

अहिले ती बिरामीको अस्पतालको आइसियुमा भेन्टिलेटरको सहायताले उपचार भइरहेको छ।

सेतोपाटीबाट

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  १ : ४६ बजे