काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस अरु देशबाट आएको भन्दा कडा देखिएको बताएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा जति पनि संक्रमण फैलिएको छ त्यो विदेशबाट आएका व्यक्तिहरुबाट फैलिएको देखिएको बताउँदै भारतबाट कडा खालको कोरोना भाइरस आएको उल्लेख गरे ।
उनले भने, ‘भारतबाट आएको भाइरस कडा खालको छ। दुबई, इटाली, चीनको वुहानबाट आएका भाइरस कमजोर खालका थिए ।’
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले पर्याप्त काम गरेको दाबी गर्दै परीक्षण, आइसोलेशन, क्वारेन्टाइन तथा संक्रमितको तथ्यांक प्रमुखताका साथ प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले विश्वका विभिन्न देशको तथ्यांक पनि बताए ।
उनले सोही क्रममा नेपालमा भारतबाट आउनेहरुमा लागेको कोरोना भाइरस कडा खालको देखिएको बताएका हुन् । विश्वको अवस्था हेर्दा लकडाउन राम्रोसँग पालना भएका देशमा संक्रमण नियन्त्रणमा आएको भन्दै सोही कारण नेपालमा पनि लकडाउन लागु गरिएको उनले बताए।
कोरोना भाइरसको संक्रमणलाई लिएर पनि राजनीति गर्न खोजिएको आरोप प्रधानमन्त्री ओलीले लगाए । कोरोना भाइरसले महंगो र महत्वपूर्ण शिक्षा दिएको बताउँदै उनले आनीबानी फेर्न आवश्यक रहेको बताए ।
विश्वका १८ वटा देशबाहेक अरुमा उत्पादन ऋणत्मक अवस्थामा पुगेको बताउँदै उनले भने, ‘राहत प्याकेज देखाउने विषय होइन, जहाँ जस्तो अवस्थामा छौँ, त्यसैअनुसार अघि बढ्नुपर्छ। जनतालाई ढाँटेर हुँदैन, राज्यले धान्न सक्ने जति मात्र दिनुपर्छ। जो बेरोजगार भएका छन्, उनीहरुलाई सम्भावन भएसम्म रोजगरी दिन्छ । त्यो पनि सबैभन्दा ठूलो उपाय हो।’
प्रतिक्रिया