मायादेवी अनलाइन, तौलिहवा ।
किटको अभावमा कोरोनाको पिसीआर परिक्षणमा ढिलाई भए पछि कपिलवस्तु नगरपालिकाले एक हजार थान किट किन्ने भएको छ । भारतबाट फर्केर क्वारेनटाइनमा १४ दिन बिताएका मान्छेको समेत किट अभावले परिक्षण हुन नसके पछि पिसीआरका लागि भिटिएम किट किन्ने प्रकृया अघि बढाईएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिन्जीवी सापकोटाले किट अभावले क्वारेनटाइनमा भएका ब्यक्तिहरुको परिक्षण हुन नसके पछि किट किन्ने तयारी गरिएको बताए ।
कपिलवस्तु नगरपालिकामा कोरोना महामारी नियन्त्रण गर्नको लागि नगरपालिकाको १२ वटै वडामा निर्माण गरिएका क्वारेनटाइनमा ८ सय जना छन् । ती सबै भारतका बिभिन्न शहरबाट फर्केका हुन् । पिसीआर परिक्षणका लागि चाहिने किटका लागि संघीय र प्रदेश सरकारसंग पटक पटक अनुरोध गर्दा समेत किट प्राप्त नभएको सापकोटाले गुनासो गरे ।
अहिलेको परिस्थितिलाई ध्यान दिई नगरपालिकाको कुनै पनि कोषबाट भुक्तानी हुने गरी किट तुरुन्त खरीद गर्ने निर्णय गरिएको उनले बताए । पिसीआरका लागि स्वाव संकलन गर्न भिटिएम किट चाहिन्छ । उक्त एउटा किटलाई ३ सय ९० रुपैयाँ पर्ने स्वास्थ्यकर्मी बताउँछन ।
पिसीआर परीक्षणका लागि १ हजार ३४० सय भिटिएम र आरडीटी किट १ हजार १ सय ६० प्राप्त भएको छ । सोमवारसम्म एक हजार ३०३ जनाको पिसीआर परीक्षण गरिएको छ । किट अभाव हुँदा क्वारेनटाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन् ।
जिल्लाका १० स्थानीय तहका क्वारेनटाइनमा ७ हजार ८ जना रहेका छन् । कपिलवस्तु नगरपालिकामा नौ सहीत जिल्लामा ४३ संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया