देवेन्द्र पौडेल ।
तिम्रा शरीरका कलपुर्जामा खिया लाग्दा
पटक पटक प्रत्यारोपण गर्ने अगुवा सन्तानहरु
थाहा भए होला, ज्यानको कति धेरै माया लाग्दो रैछ है
विदेशी बुटले छातीमा कुल्चिएर
आमाको मुटु चुँडिदा
ढाडबाटै डोजर चलाएर
आमाको कलेजो भत्कँदा
किन तिम्रा आँखाबाट आँसु खसेन ?
किन मुटुमा थोरै पनि मातृ स्नेह बचेन ?
०००
कोरोना भाइरसले भन्दा पनि पीडादायी हुने गरी
विस्तारवादी भाइरसले वषौँ देखि सताइरहँदा
लिपु, कालापानी र लिम्पियाधुरा
आइसोलेसन र भेन्टिलेटरमा बसिरहँदा
तिम्ले आमाको अस्तित्व जोगाउन
किन लकडाउन पनि गर्न सकेनौ ?
किन आमाको जिउनी नक्साङ्कन गर्न सकेनौै ?
०००
इतिहासमा बलभद्र र भक्तिहरु पनि जन्माएँ मैले
कसैका कुदृष्टि नपर्दै
सीता र भृकुटीहरु अन्माएँ मैले
कोशी, गण्डकी र महाकाली
आमाका पेवा गहनाहरु बेचेर
श्रीमतीलाई पेटिकोट किनिदिने छोराहरु
आमाको इज्जत लुटिँदा
तिमीलाई अलिकति पनि लज्जाबोध भएन?
तिमी भत्र थोरै पनि मातृ सम्मान रहेन?
०००
रोएका छन् देशभकत अपाङ्ग नरनाथहरु
लडेका छन् देवनारायण यादवहरु
मरेका छन् गोविन्द गौतमहरु
यतिबेला तिमी त सत्ता र भत्ताको उन्मादमा छौ
कमिसन र बेइमानीका आहालमा छौ
०००
होसियार छोराहरु
मैले त थाहै पाइन भनेर
आमामाथिको घृणित राजनीति बन्द गराऊ है
आफ्नो घर पोलेर, छिमेकीलाई तातो नबनाऊ है ।
०००
याद गर, माइतीघर मण्डलामा ठुलो झन्डा टाँगेर देशभक्ति हुँदैन
बालुवाटार दिल्लीसँग हारेर राष्ट्रवादी होइँदैन ।
०००
म त भाग्यमानी भनेर कविता लेख्छौ अरे
आँसु खसाउनु पर्दैन भनेर भावनामा बग्छौ अरे
देश दुखेको बेला बेखबर हुन्छौ अरे
चोरेर दुध खान पल्किएकालाई
खोकिलामा चेप्छौ अरे
माटो जोगाऊँ भन्नेलाई
नसिकाऊ भन्दै हिलो छेप्छौ अरे
०००
समय छ अझै बाटो नबिराऊ है
तिम्रो बालुवाटार र सिंहदरवार कालापानीमा लैजाऊ है ।
तिम्रो राष्ट्रवाद नालापानीमा लैजाऊ है ।
पौडेल सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया