१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘नेयमारभन्दा एमबाप्पे उत्कृष्ट’



एजेन्सी ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको सन्यासपछि फुटबलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको युगको सुरु हुने युभेन्टसका डिफेन्डर जर्जियो चिलिनीले बताएका छन् ।

उनले २१ वर्षीय एमबाप्पेले आफ्ना टोली सहकर्मी नेयमारलाई यसअघि नै पछि पारिसकेको बताए । नेयमार सन् २०१७ मा स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट २२२ मिलियन युरो विश्व कीर्तिमानी मूल्यमा पीएसजी पुगेका थिए ।

“मलाई लाग्छ कि एमबाप्पे नेयमारको तुलनामा उत्कृष्ट छन् । तर, अबको भविष्य एमबाप्पेको हो,” जर्जियोले भने, “उनी साँच्चिकै अद्वितीय खेलाडी हुन् । पहिलोपटक मैले उनलाई च्याम्पियन्स लिग २०१६–१७ मा म्यानचेस्टर सिटीविरुद्ध मोनाकोबाट टेलिभिजनमा खेलिरहेको देखेको थिएँ । उनी धेरै प्रभावशाली थिए ।”

उनले थपे, “त्यो समय उनी मात्र १८ वर्षका थिए । उक्त सिजन हामीले सेमिफाइनलमा उनीहरूको सामना गरेका थियौं । हाल उनी २१ वर्षका छन् र उनी पहिले नै विश्व च्याम्पियन भइसकेका छन् ।”

एमबाप्पेले यस सिजन पीएसजीलाई एक थप लिग वान उपाधिका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् । जसले लिगका २० खेलमा १८ गोल गरेका थिए । उनलाई लिगको शीर्ष स्कोररकर्ता समेत घोषणा गरेको थियो । तर, उनले उक्त पुरस्कार मोनाकोका विसम बेन येडेरसँग साझेदारी गर्ने प्रस्ताव गरेको छन् ।

उनले यसै सिजन पीएजीलाई च्याम्पियन्स लिगको क्वाटर फाइनलमा सुरक्षित गर्न ठूलो योगदान गरे । उनले च्याम्पियन्स लिगका सात खेलमा पाँच गोल र पाँच असिस्ट गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ९ : ०८ बजे