मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको दक्षिणी सिमावर्ती यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयलाई मायादेवी अनलाइनको फोन नम्बरबाट सोमबार साँझ फोन गयो । फोनको घण्टी सकिनै लाग्दा प्रमुख पाण्डेयले फोन उठाउनुभयो । अघि पछि फोनमा हाँस्दै गफिने पाण्डेय सोमबार साँझ भने सानो स्वरमा बोल्नुभयो । त्यो साँझ बोल्न पनि त्यति नखोज्नुभएका पाण्डेयले क्वारेनटाइन सम्बन्धि थप जटिल प्रश्नहरुको सामना पनि त्यति बेलै गर्नुपर्यो ।
क्वारेनटाइनबाट भागेको समाचार मिडियामा छ्यापछ्याप्ती भएपछि आलोचित हुनुभएका पाण्डेयलाई मायादेवीकर्मीले प्रश्न सोधे–‘क्वारेनटाइनबाट भागेकाहरु कहाँ गए ? यो प्रश्न सुन्ने वित्तिकै सुस्तस्वरमा रहनुभएका पाण्डेय एक्कासी चर्को स्वरमा प्रस्तुत हुँदै भन्नुभयो, ‘भागेकाहरु सबै क्वारेनटाइनमा आई सके । कसैले चित्ता मान्नु पर्दैन ।’ त्यसपछि झोक्किदै उहाँले भन्नुभयो, ‘मिडियाले भागे भनेर मात्र हुन्छ, मेरो अवस्था कस्ले बुज्ने ? म एक्लैले के के गर्ने ?’
क्वारेनटाइनकै विषयमा करिब पाँच मिनेट मायादेवीसंग बोल्नुभएका पाण्डेयले आफ्नो दुखेसो पोख्नुभएको हो । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमण देखिएको यो गाउँपालिकामा भारतबाट आउनेहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । गाउँपालिकामा सरकारी विद्यालय धैरै छैनन् । साथै सार्वजनिकस्थल पनि नहुँदा क्वारेनटाइन बनाएर व्यवस्थापन गर्न हम्मे हम्मे परेको हो । एकातिर क्वारेनटाइनमा बस्ने बढेको बढै छन भने अर्कोतिर क्वारेनटाइनमा बस्नेहरुले विभिन्न समस्या दर्शाइरहेका छन् । यसैलाई थेग्न नसकेर पाण्डेय अहिले चिन्तामा रहनुभएको त्यो फोनबाट बुझियो । उहाँले टेलिफोनमा पनि चाहेर पनि क्वारेनटाइनमा रहेकाहरुलाई राम्रोसंग व्यवस्थापन गर्न नसकिएको स्विकार्नुभयो । प्रमुख पाण्डेयले अहिले आफु कोरोना विरुद्धको लडाईमा एक्लै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘क्वारेनटाइनमा बस्नेहरु दिनकादिन बढेको बढ्यैँ छन्, किटको अभाव छ, क्वारेनटाइन समयावधि पूरा भएकाको पनि जाँच भएको छैन्, म एक्लै के गरौं ।’ प्रदेश र संघीय सांसदहरुले यो बेला फोननै नउँठाउने गरेको भन्दै दुखेको पनि पोख्नुभयो ।
‘तपाई गाउँपालिका अध्यक्ष भएर यत्ति किट ल्याउने कुरा पनि व्यवस्थापन गर्न सक्नुभएन भन्ने मायादेवीको प्रश्नमा उहाँले जवाफ फर्काउनुभयो’,–‘सक्ने जति गरेको छु, किटहरु मेरो वसमा छैन, प्रदेश र संघीय सांसदहरुलाई भनेको भन्यैँ छु, हेरौं कहिलेसम्म हुन्छ । तै पनि नगरका कर्मचारीलाई बुधबारसम्म करिब १२ सय किट ल्याउन भनेको छु । बुधबारबाटै दोस्रो चरणको पिसीआर जाँच गर्दैछौं ।’
क्वारेनटाइनबाट ४५ जना भागे भनिए पनि त्यो सत्य नभएको भन्दै ३० जना मात्र भागेकोे पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, “ती सबै अहिले क्वारेनटाइनमा आइसके अब अरुले चिन्ता मान्न पर्दैन ।”
सरकारले पिसीआर परीक्षण किट पठाउने तर क्वारेनटाइनमा बसेकाको छिटो परीक्षण नगर्दा उनीहरुमा नैरास्यता बढेको उहाँले जनाउनुभयो । खासगरी क्वारेनटाइनमा बसेको ७ या ८ दिनपछि पिसीआर जाँच हुनुपर्नेमा १४ दिन हुँदा समेत कोरोना जाँच नभएपछि त्यहाँ बसेका आत्तिएका छन् । यदि समयमा जाँच गरी रिपोर्ट नआएमा भाग्ने समस्यालाई चाहेर पनि थेग्न नसकिने पाण्डेयले बताउनुभयो ।
एक पटक क्वारेनटाइनमा आएर भिजिट गरी वास्तविकता बुझेर मात्रै खबर सम्प्रेषण गरिदिनुहुन मैले अनुरोध गर्दछु, ‘उहाँले भन्नुभयो ।’ क्वारेनटाइनमा क्षमताभन्दा बढी भएकाले स्वभाविक रुपमा भनेजस्तो व्यवस्था गर्न सकिएको छैन् । खानपान सकेसम्म राम्रै गरेका छौं, कमिकमजोरी भए त्यसलाई सच्चाएर जाने यसै मिडिया मार्फत प्रतिवद्धता जनाउँछु ।
उहाँले थप्नुभयो, ‘प्रमुख पाण्डेले संघीय तथा प्रदेश सांसदले यो कुरा बुझेर चासो नदिए सिंगो पालिका नै जोखिममा हुनेछ । उहाँले आक्रोसित हुँदै भन्नुभयो, ‘जनताले भोट मलाई मात्र दिएका छैनन्, अरुलाई पनि दिएका छन्, यो सबैको साझा समस्या हो । सबै मिलेर जुँधेमात्र कोरोनाको लडाईमा जित हासिल गर्न सकिन्छ ।’ उहाँले सम्पूर्ण गाउँपालिकाबासीलाई धैर्य रहि लकडाउनको पूर्णपालना गर्न आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया