मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरस विरुद्धको अभियानमा सकृय कपिलवस्तु उद्योग वाणिज्य संघले इन्टरनेटको माध्यमबाट भर्चुअल वैठक सम्पन्न गरेको छ । सोमबार दिउँसो ४ बजे कपिलवस्तु उद्योग वाणिज्य संघले पदाधिकारी, सल्लाहकार तथा सदस्य बीच भर्चुअल वैठक आयोजना गरेको थियो ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको कपिलवस्तु जिल्ला र सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन चालेको कदमलाई साथ दिदै कपिलवस्तु उद्योग वाणिज्य संघले सूचना प्रविधीको प्रयोग गरी वैठक गरेको हो ।
कोरोना रोकथाम र नियन्त्रणमा मुख्यगरी सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले सूचना प्रविधीको प्रयोग गरेर वैठक आयोजना गरिएको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो । लकडाउनका बेला कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाउ भन्ने सन्देशका साथ इन्टरनेटको माध्यमबाट वैठक आयोजना गरेको हो ।
निरन्तर कोरोना विरुद्धको लडाईमा नेतृत्वदायी भूमिका खेलिरहेको संघले लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्दै सचेतना, सतर्कता तथा आम उपभोक्ताको हितमा काम गरिरहेको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश र जिल्लाका संघहरु संग नियमित सम्पर्क समन्वय भइरहेको वैठकमा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोनाको संक्रमण वाणगंगा नगरपालिका सहित जिल्लामै बढ्दै गएपछि उच्च सतर्कता अपनाउन प्रविधीको प्रयोग गरी कोरोनाको संक्रमण विरुद्धको अभियानमा आ आफनो ठाउँबाट संघका पदाधिकारी सदस्यले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएको छ । लामो अवधीको लकडाउनका कारण उद्योग व्यवसाय संकटमा परेको बताउदै महासंघलाई व्यवसायीका समस्याका बारेमा लिखित जानकारी समेत गराउने भएको संघका महासचिव लक्ष्मण अधिकारीले बताउनुभयो ।
संघले जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयलाई थप प्रभावकारी बनाउदै कार्यान्वयनमा जोड दिने भएको छ । नेपाल सरकारले लकडाउन जेठ २० सम्म लम्बाएको छ । सोही वमोजिम जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमणको उच्च जोखिमलाई कम गर्न जेठ २० सम्म लकडाउनलाई कडाई गरेको हो । जिल्लाले थप कडाई गर्दै खाद्यान्न तथा तरकारी किनमेलका लागि प्रत्येक सोमबार, बुधबार र शनिबार विहान ७ देखि ९ बजेसम्म तोकेको छ । संघले पनि सोही वमोजिम नगरक्षेत्रमा लागु गर्ने जनाएकोे छ ।
भर्चुअल वैठकमा अध्यक्ष उमानाथ पौडेल, निवर्तमान अध्यक्ष यज्ञप्रसाद भट्टराई, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, बाणिज्य उपाध्यक्ष हुमनाथ पौडेल, एशोसियट उपाध्यक्ष टोपनारायण भण्डारी, महासचिव लक्ष्मण अधिकारी, सल्लाहकारहरु विष्णु प्रसाद न्यौपाने, टोप नारायण वेल्वासे, प्रेस सल्लाहकार हरि अधिकारी, सचिव मनोज पौडेल, सह–कोषाध्यक्ष कृष्ण प्रसाद गैरे र अन्य कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया