मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकाका क्वारेनटाइनबाट भागेका भनिएका ब्यक्तिहरु घर गएर फेरि सम्पर्कमा आएका छन् । क्वारेनटाइनमा बसेकाहरु भागे भन्ने खबर मिडियामा छ्यापछ्याप्ती भएपछि सक्रिय बनेको गाउँपालिकाले अन्ततः उनीहरुलाई क्वारेनटाइनमा फिर्ता गर्न सफल भएको हो ।
गाउँपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले भागेका व्यक्ति क्वारेनटाइनमा फर्किएपछि अब त्रासको स्थिति नरहेको मायादेवी अनलाइनलाई बताउनुभयो ।
भागेकाहरु घरघर पुगेको थाहा पाएपछि घरघरै गएर पुनः सम्बन्धित क्वारेनटाइनमा ल्याइएको अध्यक्ष पाण्डेयले बताउनु भयो । यो काममा पालिकका स्वास्थ्य शाखा प्रमुख ज्योती दुबे लगायतको टोली सक्रिय रुपमा खटिएको उहाँले बताउनुभयो ।
मिडियामा ४५ जना भागे भनिए पनि त्यो सत्य नभएको भन्दै ३० जना मात्र भागेकोे पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ती सबै अहिले क्वारेनटाइनमा आइसके अब अरुले चिन्ता मान्न पर्दैन ।’
सरकारले पिसीआर परीक्षण किट पठाउने तर क्वारेनटाइनमा बसेकाको छिटो परीक्षण नगर्दा उनीहरुमा नैरास्यता बढेको बताउनु भयो । त्यहाँ ११ सय ५४ जना क्वारेनटाइनमा रहेका र सबैको जाँचका लागि किट अभाव रहेको स्वास्थ्य शाखा प्रमुख दुवेले बताउनु भयो । अहिले पालिकाले काठमाडौंबाट १२ सय कीट किनेर ल्याउन निर्देशन दिइसकेको गाउँपालिकाले जनाएको छ ।
खासगरी क्वारेनटाइनमा बसेको ७ या ८ दिनपछि पिसीआर जाँच हुनुपर्नेमा १४ दिन हुँदा समेत कोरोना जाँच नभएपछि त्यहाँ बसेका आत्तिएका छन् । यदि समयमा जाँच गरी रिपोर्ट नआएमा भाग्ने समस्यालाई चाहेर पनि थेग्न नसकिने पाण्डेयले रेडियो मायादेवीको मूल खबरमा अन्तर्वार्ताको क्रममा बताउनुभएको छ ।
प्रतिक्रिया