१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जेष्ठ २० गतेसम्मै कपिलवस्तु सिल



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसका संक्रमित बढेसंगै गत बैशाख २९ गतेदेखि गरिएको कपिलवस्तु सिल लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जेष्ठ ५ गते मध्यरातसम्म गरेको जिल्ला सिल लम्बिने भएको हो ।

सरकारले लकडाउनको समयलाई थपेर जेष्ठ २० गतेसम्म लगेको छ । तर, कपिलवस्तुमा कोरोना संक्रमित भेटिनेक्रम बढेपछि सरकारले गरेको लकडाउनभन्दा बढी कडा पारिएको छ । विहान ७ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य अत्यावश्कीय सामग्रीका पसल खुल्ला गर्ने बाहेक अरु सबै काम जिल्लामा ठप्प पारिएको छ ।

यसैलाई जेष्ठ २० गतेसम्म निरन्तरता दिने गृहकार्य भैरहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ‘अहिले जे छ आगामी २० गतेसम्म यस्तै हुन्छ, प्रजिअ पौडेलले भन्नुभयो, ‘कोरोनाको जोखिम न्यूनिकरणका लागि गरिएको यो कदमलाई सबैले साथ दिनुपर्छ ।’

जिल्ला प्रशासन कार्यालयमा यहि विषयमा निर्णय लिन सोमबार जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको छ । बैठकबाट फेरि जिल्ला सिलको म्याद थपिने बताइएको छ । प्रशासनले उद्योगधन्दा, कलकारखाना, निर्माणसंग सम्बन्धित कार्यहरु, व्यापार व्यवसाय आदिलाई पूर्ण रुपमा रोक लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २ (१) बमोजिम यो निर्णय लिइएको हो ।

जिल्लाका १० स्थानीय तह मध्ये ९ पालिकामा सोमबारसम्म ४३ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ७ : ४५ बजे