९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गरिबले पाउने राहतमा धनिको दाबी भए पछि भूमिकास्थानमा रोकियो राहत वितरण कार्य



अर्घाखाँची ।
सम्पन्न र धनी परिवारलेसमेत राहत पाउनु पर्ने माग गरेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले हालसम्म राहत बाँड्न सकेको छैन ।

लकडाउन भएको ५० दिन बितिसक्दा पनी राहत वितरण गर्न नसक्दा विपन्न तथा ज्याला मजदुरी गर्नेहरु समस्यामा परेका छन् । भुमिकास्थान नगरपालिकाका दस वटा वडामा रहेका दैनिक मजदुरी गरेर खाने र अति विपन्न घर परिवारलाई राहत वितरण नहुँदा उनीहरु भोकै बस्न बाध्य छन् ।

जिल्लाका ६ स्थानीय सरकारमध्ये पाँच वटा स्थानीय सरकारले पहिलो चरणको राहत वितरण गरी सक्दा पनि भुमिकास्थान नगरपालिकाले राहत वितरण गर्न नसकेको हो । ’सबै वडामा राहत पाउनेको फर्म भरेर नामावली पठाउन भनेकोमा हुने खाने र सम्पन्न परिवारको समेत नाम राहत पाउनेको लिस्टमा नाम राखेर पठाएपछि राहत वितरण गर्न नसकिएको हो’, नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनुभयो, ’नगरपालिका भित्र आठ हजार पाँच सय घरधुरी छन् । वडाबाट आएको तथ्यांक अनुसार छ हजार एक सय घरमा राहत दिनु पर्ने देखिन्छ ।’ नगरभित्रका यति धेरै घरमा राहत दिनु पर्ने माग आएपछि राहत वितरण नगरिएको थापाले बताउनुभयो ।

जिल्लाभर हालसम्म ४ हजार ९ सय ४५ घर परिवारमा राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि झन्डै ५ हजार घर परिवारमा राहत वितरण गरिएको स्थानीयतहका प्रमुखहरुले दावी गरेका छन् ।

पाँच स्थानीय तहका चार हजार नौ सय ४५ जनालाई एक लाख २१ हजार ३ सय ७ किलो चामल, १० हजार तीन सय ६४ किलो दाल, सात हजार ९ सय १२ लिटर तेल र ७ सात हजार १ सय ४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ६ : ५६ बजे