१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल भारत सीमाका पालिकालाई हजार बेडको क्वारेनटाइन बनाउन प्रदेश सरकारको निर्देशन



मायादेवी अनलाएन चार नम्बर ।
प्रदेश ५ मा निर्माण भएका र निर्माणको अवस्थामा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् वैठकले यस्तो निर्णय गरेको हो ।

भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएको सन्दर्भमा हालसम्म पनि क्वारेन्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भन्सार नाकामा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा १ हजार बेडको क्वारेन्टाइन तयार गरी व्यवस्थित रुपमा संचालन गर्ने ब्यवस्था मिलाउन प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ ।

यस्तै सरकारले भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्व तयारी गर्न पनि निर्देशन दिएको छ ।

हाल संचालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेन्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने पनि निर्णयमा जनाइएको छ ।

यस्तै बाँके जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा संचालनमा ल्याउने, कोरोनाको प्रभाव बढी देखिएका जिल्लाका स्थानीय तहहरुमा परिक्षणको दायरा वढाउने, कोरोना पोजिटिभ देखिएका तर रोगको गंभिर लक्षण नदेखिएका संक्रमितहरुलाई जिल्लाका विभिन्न अस्पतालमा छुट्याोईएका आइसोलेसन वेडमा व्यवस्थित रुपमा राखी उपचार गर्ने, लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप १ सय र भीम अस्पताल भैरहवामा थप ५० आईसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याउने लगायतका निर्णय गरेको मुख्य मन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहाकार शेर बहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै नेपालगञ्ज, वुटवल र भैरहवामा रहेका कोरोना विशेष अस्पतालमा संक्रमित विरामीको चाप बढी रहेको अवस्थामा तत्कालका लागि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा विरामी पठाउने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

यस्तै जिल्ला वाहिर गएका व्यक्तिहरु घर फर्केपछि घरको छुट्टै कोठा वा स्थानमा बस्ने व्यवस्था गर्ने र कम्तिमा १४ दिन परिवारसँग सामाजिक दुरी कायम गर्ने, टोल वा सामुदायिक संस्थाहरुले निर्माण गरी सञ्चालनमा ल्याउने, क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुका लागि आवश्यक लत्ता कपडा र खानपिनको व्यवस्था सम्वन्धित व्यक्तिको घर परिवारले गर्ने, पालिकाहरुले निर्माण गरी संचालन गर्ने गरी ब्यवस्था गरिने जनाइएको छ ।

यस्तै पालिकास्तरीय क्वारेनटाइन र जिल्लास्तरीय क्वारेण्टाइन बनाएर तराइका जिल्लाहरुमा जिल्लास्तर कोरोना संकट व्यवस्थापनमा लाग्ने पनि जनाइएको छ । यसको लागि आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, सरसफाइलगायतका व्यवस्था सम्वन्धित जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने गरी ब्यवस्थापन गर्न लागिएको केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ६ : १५ बजे