१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

४५ जना क्वारेन्टाइनबाट भागेपछि कपिलवस्तुमा तनाव, सिडियो भन्छनः भाग्ने नियन्त्रणमा छन !



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा अर्को तनाव थपिएको छ । भारतबाट लुकीछीपि हजारौं नागरिक एकाएक जिल्ला भित्रिएपछि सम्हाल्न धौ-धौ परिरहेको बेला फेरी अर्को तनाव थपिएको छ ।

प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर बनेको जिल्लाका क्वारेन्टाइनमा बसेका नागरिकहरू भागे पछि यस्तो तनाव भएको हो ।

जिल्लाको यसोधरा गाउँपालिका ८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गर्नुभयो । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविमा निर्मित क्वारेन्टाइनका ३० जना बढि र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिहोखोरका थप १५ जनासमेत क्वारेन्टाइन छोडेर भागेको उहाँको भनाई छ ।

गाउँपालिकाले क्वारेन्टाइनको जिम्मा सम्बन्धित वडा अध्यक्षलाई दिएको छ । गाउँपालिका अध्यक्ष पाण्डेयले वडाअध्यक्षसँग बाँकी कुरा बुझिरहेको बताउनुभयो ।

उहाँले यसबारेमा ३ दिनअघि नै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएकोसमेत बताउनुभयो । क्वारेन्टाइनबाट भागेकाहरूको खोजी भइरहेको समेत अध्यक्ष पाण्डेयले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेकाहरू भागेको खवर फैलिएपछि अहिले गाउँमा त्रास समेत बढेको छ । यता कपिलवस्तुका जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले क्वारेन्टाइनबाट भाग्न खोजे पनि उनीहरूलाई प्रहरी र सशस्त्रको टोलीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

यता शनिबार मात्र गाउँपालिकाको वडा नं. ५ स्थित जनता आधारभूत विद्यालय मुडीलाको क्वारेन्टाइनका बस्नेहरुको ‘दाल भातमा ढुंगैढुंगा छ’ कसरी खाने ? भन्दै मायादेवी अनलाइनसंग गुनासो गरेका थिए । आफुहरुलाई दिईदैँ आएको खाना गुणस्तर नभएको र बसाईमा लापरवाही भएको उनीहरुको गुनासो थियो ।

यशोधरा गाँउपालिकामा हालसम्म १२ कोभिड १९ रोगका संक्रमित फेला परेका छन् । जुन जिल्लाकै बढी हुन् । यस्तै सबै भन्दा बढी संक्रमित वडा नम्बर ८ मा ५ जना रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ६ : १० बजे