१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बेलहियाबाट १ हजार नेपाली घर फिर्ता



रुपन्देही ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन् ।

कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वरेन्टीनमा बसेका थिए । एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो । अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन् ।

दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेकोे बेलहियाका रामबहादुर बस्नेतले बताउनुभयो । शनिबार क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाइ लिन पुग्नुभएको थियो ।

यसैबीच नेपालका विभिन्न क्वरेन्टीनमा बसेका १३२ भारतीय घर फर्केका छन् । स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो । शुक्रबार मात्रै भारतबाट २ सय ३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए ।

शुक्रबार आएकामध्ये २१३ जना कञ्चन गाउँपालिका र २६ जनालाई सिद्धार्थनगर नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । बेलहिया नाकाबाट यसअघि पहिलो चरणमा ३ सय १०, दोस्रो चरणमा ४ सय ९५, तेस्रो चरणमा २ सय ३९ र चौथो चरणमा १ सय ६५ जना प्रवासी घर फर्केका छन् । (रासस)

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ९ : २७ बजे