नेपालगञ्ज ।
क्वारेन्टाईनमा रहेका एकनाको मृत्यु भएपछि बाँकेको नरैनापुरमा रहेको क्वारेन्टाईनमा रहेकाहरुमा त्रास फैलिएको छ ।
बाँकेको नरैनापुरमा रहेको क्वारेन्टाइनमा रहेका एक युवाको गयराती मृत्यु भएको छ । स्थानीय दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना)ले जानकारी दिनुभएको छ ।
ती युवालाई राति एक्कासी वान्ता भएको र आज बिहान साढे ६ बजेतिर क्वारेन्टाइनमा मृत्यु भएको उहांले बताउनु भयो । मृत्युको कारण अहिले सम्म खुल्न नसकेको उहांले बताउनु भयो । उनी गत बैशाख ३० गते मात्र भारतबाट आएर उक्त क्वारेन्टाइनमा बसेका थिए ।
शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो ।
२ सय ६३ जना मध्ये मृत्यु भएका युवाको समेत स्वाब संकलन भएको प्रदेश सांसद नमुनाले जानकारी दिनुभयो । स्वाबको रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिडिसकेको जानकारी दिनुभयो । अहिले मृत्यु भएका युवाको शवंलाई क्वारेन्टाइन स्थलमा नै राखिएको छ ।
प्रतिक्रिया