मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया कोरोना संक्रमित बालिकाकी आमाले छोरीको पुनः कोरोना जाँच गर्न माग गर्नुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम कोरोना विशेष संवादमा आइतबार विहान कुराकानी गर्दै बालिकाकी आमा गीता पौडेलले यस्तो माग गर्नुभएको हो ।
आइतबार विहान मात्र बालिकाकी आमा र हजुरबुवाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । ‘छोरीसंगै गएका म र ससुराको रिपोर्ट राम्रो आउनु र अस्पतालका सबै चिकित्सकमा कोरोना नदेखिनुले आशंका जन्माएको छ उहाँले भन्नुभयो, ‘पुनः छोरीको जाँच गर्नुपर्छ भन्ने मेरो माग हो ।’
‘म रातदिन छोरीसंगै रहेकी छु । हजुरबुबा पनि संगै हुनुहुन्छ, हाम्रो रिपोर्ट नेगेटिभ आउने बालिकाको मात्र पोजेटिभ आउने ? यो कसरी हुन्छ ? उहाँले प्रश्न गर्नुभयो ।’
पुनः छोरीको पिसीआर जाँच नहुँदासम्म आफू शान्त नहुने भन्दै उहाँले नानी संक्रमित भएको भए अस्पतालबाट या ट्रकबाट सरेको हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी टिचिङ छिर्दा ठुलो भिँडभाँड थियो । ठेलमठेल गर्दै अस्पतालको कक्षमा छिर्यौँ । कि त त्यहीँबाट सरेको हुनु पर्दछ । या त कलंकीको ट्रकबाट !’
राजधानी पुगेपछि प्रहरीले आफूहरुलाई एक ट्रकमा चढाइदिएको भन्दै सो ट्रकमाथि उहाँले आशंका गर्नुभएको हो । कोरोनाको चपेटामा पर्दा नानीको पुरानो रोग घाँटीको उपचार हुन नपाएर त्रास सिर्जना गरेको उहाँको भनाई छ ।
छोरीको घाँटीमा पहिले देखि नै समस्या रहेकोले थप उपचारका लागि काठमाडौं लगिएको उहाँले बताउनुभयो । उहाँले तुरुन्त छोरीको घाँटीको उपचार हुनुपर्ने माग पनि गर्नभएको छ ।
यता नेपाल स्वास्थ्य प्राविधिक संघका कपिलवस्तु अध्यक्ष लेखनाथ पौडेलले अभिभावकलाई कोरोना शंका लागे राज्यले पुनः जाँच गर्नुपर्ने बताउनुभएको छ । सोही रेडियो कार्यक्रममा बोल्दै उहाँले घर परिवारमा शंका गर्नु स्वभाविक रहेको बताउनुभयो । यद्यपि उहाँले कोरोनाको संक्रमण रोग प्रतिरोधात्मक शक्ति कमजोर भएकालाई मात्र देखिने भन्दै रिपोर्ट सबैको नेगेटिभ नै आउँछ भन्ने नभएको बताउनुभयो ।
प्रतिक्रिया