१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सम्पर्कमा आए दाङका कोरोना संक्रमित



दाङ ।
तुलसीपुरका कोरोना संक्रमितको बल्ल पहिचान भएको छ । संक्रमित तुलसीपुर उपमहानगरपालिका(४ का ४६ वर्षीय पुरुष रहेको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा भएको परीक्षणमा तुलसीपुर ७ का ३४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको विवरण शुक्रबार सार्वजनिक गरेको थियो । उक्त विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकाले यसअघि ती संक्रमित काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत रहेको भन्ने यकिन गरेको थियो । ती कर्मचारीको रिपोर्ट नेगेटिभ भएको थाहा भएपछि खास संक्रमितको खोजी सुरु गरिएको थियो ।

अहिले पहिचान भएका संक्रमित चैत अन्तिम साता आफन्तको उपचारका क्रममा कोहलपुर हुँदै काठमाडौंको एक अस्पतालमा गएको र त्यसपछि दाङ नआएको नगर प्रमुख पाण्डेले बताए । काठमाडौंमै रहेका बेला कोरोना पुष्टि भएकाले दाङमा उनको अन्य व्यक्तिसँग सम्पर्क भएको नदेखिएको उनले बताए ।

शुक्रबार दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना गढवा गाउँपालिका ४ र ५ का २३ र ३६ वर्षीय पुरुष छन् । उनीहरुको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । उनीहरु कृष्णनगर हुँदै भारतबाट आएका थिए । कृष्णनगरमा ७ दिन क्वारेन्टाइनमा बसेपछि एम्बुलेन्समार्फत बुधबार गढवा पुगेका थिए । गढवा पुगेपछि घर जान नदिई सिधै क्वारेन्टाइनमा राखिएको थियो । त्यहीँबाट स्वाब परीक्षण गर्ने क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

उनीहरुसँगै कृष्णनगरबाट एम्बुलेन्समा आएर गढवा १ कालाकाटेमा ओर्लिएका एक व्यक्ति घोराही १२ का रहेको खुलेको छ । उनलाई घोराही ३ कुइरेपानीस्थित क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ । संक्रमितसहित पाँच जनालाई कृष्णनगरबाट एम्बुलेन्समा ल्याउने चालकलाई पनि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्न थालिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ८ : २८ बजे