१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश ५ तराईका सबै जिल्लामा कोरोना फैलियो, पहाडी जिल्ला भने सुरक्षित



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार दाङमा कोरोना पोजेटिभ देखिएसंगै प्रदेश ५ का सबै भारतीय सिमावर्ती जिल्लामा कोरोना पुष्टि भएको छ । शुक्रबार दाङको गढवा गाउँपालिकामा २ र तुलसीपुर उप महानगरपालिकामा कोरोना देखिएसंगै प्रदेशका सबै सिमावर्ती जिल्लामा कोरोना फैलिएको हो । बाँकेबाट कोरोना देखिएकोमा अहिले आएर रुपन्देही, कपिलवस्तु, बर्दिया र नवलपरासीमा कोरोना देखिएको छ ।

सबै जिल्लामा गरी प्रदेशमा कुल संक्रमितको संख्या १ सय ९ पुगेको छ । यो समाचार तयार पार्दासम्म बाँकेमा ३३, रुपन्देहीमा २८, दाङमा ३, बर्दिया र नवलपरासीमा एक–एक जना र सबैभन्दा धेरै कपिलवस्तुमा ४३ जनामा कोरोना देखिएको छ । प्रदेशमा सबैभन्दा बढी कपिलवस्तु जिल्ला प्रभावित भएको छ । यहाँका १० पालिकामध्ये ९ पालिकामा कोरोना फैलिएको छ । महाराजगञ्ज नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

उता प्रदेशका पहाडी जिल्ला भने कोरोनाबाट अहिलेसम्म सुरक्षित रहेका छन् । पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र पूर्वी रुकुममा कोरोना संक्रमण देखिएको छैन् । कोरोनाबाट जिल्लालाई जोगाउन गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लामा आवतजावतमा कडाई गरिएको छ भने अन्य जिल्लामा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश ५ सात प्रदेश मध्ये सबैभन्दा बढी कोरोना फैलिएको प्रदेश हो । कर्णाली प्रदेशमा भने कोरोना देखिएको छैन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कोरोनाको स्थिति थप भयावह हुन नदिन दक्षिण भारत र दिल्लीबाट नेपाल आउने हरेक व्यक्तिको कोरोना परिक्षण गरिने बताइसक्नु भएको छ ।

भारतको क्वरेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य परिक्षण नगरी नेपाल फर्काउन थालेपछि कोरोना सङ्क्रमण हुने खतरा रहेको भन्दै उहाले सीमा क्षेत्रमा आउने सबैलाई क्वरेन्टाइनमा राखिने र कोरोना परिक्षण गरेर मात्रै घर सम्म पु¥याउन सकिने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले भारतले डब्लूएचओको मान्यता पालना नगरेकाले सीमा क्षेत्रमा थप झमेला उत्पन्न भएको बताउनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ०७ बजे