१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना बालिकाका परिवारको रिपोर्ट ४ दिनसम्म पनि आएन,गाउँले भन्छनः कति दिनसम्म ढोका थुनेर बस्ने?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरिपालिकाकी पहिलो कोरोना संक्रमित ६ बर्षीया बालिकाको परिवारको पिसीआर जाँचमा ढिलाई हुँदा त्रास फैलिएको छ । वडा नम्बर ४ ठाकुरापुरकी बालिका विहीबार कोरोना संक्रमित भएकी थिइन् । शनिबार (आज) ४ दिन वितिसक्दा पनि उनका हजुरबुबा, आमा र बालिकालाई राजधानीको शिक्षण अस्पतालसम्म पुर्याउने गाडी चालकको रिपोर्ट नआउँदा गाउँलेबासी बढी त्रासमा रहेका छन् । बालिकाको उपचार गर्ने डाक्टर तथा नर्सको पिसिआर नतिजा नेगेटिभ आए पछि नगरमै त्रासको बातावरण सिर्जना भएको सरोकारवालाले बताएका छन् ।

स्थानीयबासी तथा संचारकर्मी युवा उदय पोख्रेलले कम्तिमा पनि बालिकाको हजुरबुबा, आमा र ती सवारी चालकको रिपोर्ट यतिबेलासमम आइपुग्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “डाक्टर नर्ससंग संगै यी ब्यक्तिहरुको पिसीआर जाँच भइसकेको भए यतिखेरसम्म गाउँले एक निर्णयमा पुग्ने थिए । तर अहिलेसम्म पिसीआर जाँचको रिपोर्ट नआउँदा साह्रै अन्यौल भयो ।”

स्थानीय समाजसेवी नुरदेव पोख्रेलले बालिकाको परिवारको कोरोना जाँच गर्न कसले रोक्यो भनेर प्रश्न गर्नुभएको छ । बालिका संक्रमित भएको समाचार आएको आज चार दिन भइसक्यो । अझैसम्म स्वाब संकलन भएको छैन । पोख्रेलले यो कसले गर्ने हो भनेर गम्भिर आपत्ति पनि जनाउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो आपत्ति सबै गाउँलेको हो ।’

स्थानीय समाजसेवी विष्णु पौडेलले कोरोना संक्रमित बालिकाको परिवारको रिपोर्ट लुकाउन खोजिएको आरोप लगाउनु भएको छ । कतिदिनसम्म ढोका थुनेर बस्ने ? प्रश्न गर्दै उहाँले भन्नुभयो, कतै बालिकाको कोरोना रिपार्ट नै गलत त दिइएन ? होइन भने किन यति ढिलाई ? संक्रमित बालिकाको छिमेकी समेत रहनु भएका उहाँले ४ दिनसम्म त कम्तिमा पनि हजुरबुबा र आमाको रिपोर्ट आइपुग्नु पर्ने किन आएन ? शंका गर्ने अवस्थामा गाउँले पुगिसक्यौँ । ठाकुरापुरबासी अहिले सबै होम क्वारेनटाइनमा छन् । यहाँसम्मकी ‘यहाँ नआउनुस् प्लिज’ भन्ने सूचना नै लेखेर स्थानीयहरु बस्न बाध्य भएका देखिएको छ ।

यता नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आइतबार स्वाब संकलनको काम हुने बताउनु भयो । यो ढिलाईले आफूहरु पनि चिन्तित भएको भन्दै नआत्तिन आग्रह गर्नुभयो । अहिले नगरले बालिकाको सम्पर्कमा आएका १ सय १० भन्दा बढी ब्यक्तिको तथ्यांक संकलन गरिसकेको छ । उनीहरु सबैको छिटै कोरोना जाँच हुने पौडेलले बताउनु भयो । मायादेवीलाई प्राप्त भएको सूचना अनुसार ती बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्रालयले विज्ञप्ति नै जारी गरी बालिका स्वस्थ रहेको जनाएको छ । गाउँलेले परिवारको रिपोर्ट नेगेटिभ। पोजेटिभ जे आए पनि आफूहरु ‘कन्भिन्स’ हुने बताएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ६ : ०७ बजे