१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यशोधराको क्वारेनटाइनमा बस्ने एक युवा भन्छनः ‘दाल भातमा ढुंगैढुंगा छ’ कसरी खाने ?



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका क्वारेनटाइनमा बस्नेहरुले खाना र बसाई राम्रो नभएको गुनासो गर्न थालेका छन् । पछिल्लो एक हप्तामा क्वारेनटाइनमा बस्ने एकाएक बढेपछि स्थानीय तहलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको बेला क्वारेनटाइनमा बस्नेहरुले यस्तो गुनासो गर्न थालेका हुन् ।

विशेषगरी कोरोना संक्रमित भेटिएका भारतीय सिमावर्ती यशोधरा गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेहरुले यो गुनासो गरेका छन् ।

आफुहरुलाई दिईदैँ आएको खाना गुणस्तर नभएको र बसाईमा लापरवाही भएको भन्दै क्वारेन्टाइनमा बस्नेहरुले गुनासो पोखेका हुन् ।

यशोधरा गाउँपालिका ५ स्थित जनता आधारभूत विद्यालय मुडीलाको क्वारेन्टाइनका बस्नेहरुको यो गुनासो छ ।

‘गाउँपालिकाले दिएको खाना खानै नसक्ने छ, एक युवाले मायादेवी अनलाइनसंग कुरा गर्दै भने, ‘खाना डढेको छ, दाल भातमा ढुंगैढुंगा छन्, अब कसरी खाने ? पटक पटक गुनासो गर्दा पनि सुनुवाई भएन ।’

कतिपयले सामाजिक सञ्जालमा यो विषयबारे सार्वजनिक पनि गरिरहेका छन् ।

शुरुका दिनमा घरबाट ल्याएदिएको खाना खाएको र दुई दिन पछि गाउँपालिकाले दिन थालेको ती युवाले जनाए ।

‘दुई दिन भयो गाउँपालिकाले खाना दिन थालेको, मुम्बईबाट आएका ती युवाले भने, ‘खाना खान योग्य छैन्, भोक लागेको थियो खायाँ, नखाए मरिन्छ ।’

समाजसेवी देव मिश्राले खानामा सुधार गर्न आग्रह गरेपनि जनप्रतिनिधीले नसुनेको बताए । यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेले शुरुको दिन खाना नराम्रो भएको स्वीकारेपनि दोश्रो दिन आफुले सुधार गरेर राम्रो खाना दिएको बताए । ‘कोठाको अभाव छ, क्वारेन्टाइनमा मान्छेहरु थपिएका छन्, सवैलाई अलग अलग राख्न समस्या छ, उनले भने ।’

५ दिन अघि महाराष्ट्र मुम्बईबाट नेपाल प्रवेश गरी यशोधरा गाउँपालिकाले विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा उनीहरु बसेका छन् । १७ जनाको समूहमा आएका उनीहरु एकै कोठामा ५ दिन बसेका छन् । क्वारेन्टाइनमा आएका उनीहरु आफनै घरबाट खाट, विस्तारा, झुल ल्याएर आफुहरु बसेको बताएका छन् । शुरुका ३ दिन घरबाटै परिवारले खाना समेत खुवाएका थिए ।

स्कुलको क्वारेन्टाईनमा कोठा अनुसार भारतबाट आएका व्यक्तिलाई समुहमा राख्ने गरिएको छ । ठुलो सानो कोठा अनुसार कहि १७ जना, कहि १५ जना, कहि ४ जना एउटा कोठामा बस्दै आएका छन् ।

गाउँपालिकाले भारतका कुन ठाउँबाट आएका हुन् त्यसको पहिचान गरेर अलग अलग कोठामा राखेको छ ।

भारतबाट आउने एकाएक बढेपछि स्थानीय तहलाई सम्हाल्न हम्मे हम्मे परेको छ । तर, कोरोनाको संक्रमणदर बढीरहेकाले क्वारेनटाइनबाटै थप संक्रमण फैलने खतरा बढेको स्वास्थ्यकर्मीले चेतावनी दिदै आएका छन् ।

जिल्लाका अधिकांश क्वारेन्टाइन मापदण्ड अनुसार नभएको स्वास्थ्यकर्मीको टोलीले बताइसकेको छ । क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलिन सक्ने भन्दै शौचालय, खानेपानीको अलग अलग व्यवस्था र व्यक्ति व्यक्ति बीचको सामाजिक दुरी कायम गरेर बसाई मिलाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

ठाउँ अभावका कारण यशोधराका क्वारेन्टाइनमा १७ जनासम्म एकै ठाउँ राखिएको छ । यदि कुनै एक व्यक्तिमा कोरोना पोजेटिभ देखिए अन्य सवैमा संक्रमण फैलन खतरा छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ५ : २७ बजे