मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको शिवराज नगरपालिकामा शनिबार कोरोना संक्रमण पुष्टि भएका तीनै जना भारतको मुम्बईबाट आएको खुलेको छ । कृष्णनगर नाका हुँदै लुकीछीपि तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेका हुन् ।
तीन जना मध्ये दुई जना वडा नं. ८ विशुनपुरका रहेका छन् भने एक जना वडा नं. ११ थुँनियाका रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
‘शनिबार संक्रमण पुष्टि भएका तीनै जना फरक फरक मितिमा मुम्बईबाट आएको पाइएको छ, स्वास्थ्य शाखा प्रमुख भट्टराईले भन्नुभयो, ‘उनीहरु कहि नगई सिधै क्वारेनटाइनमा आएका थिए ।’ गत बैशाख २५, २७ र २८ गते मुम्बईबाट आएको खुलेको पनि उहाँले जानकारी दिनुभयो ।
तीनै जना खरेन्द्रपुरमा रहेको एक होटलको क्वारेनटाइनमा रहेको उहाँले बताउनुभयो । पहिलेको छाला फ्याक्ट्री भएको स्थानमा सञ्चालन भएको होटलमा तीनै जना रहेका छन् उहाँले भन्नुभयो, ‘संक्रमित तिनै जनालाई दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लैजाने तयारी भैरहेको छ ।’
नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया