१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आजबाट जिल्ला पास रद्ध, अत्यावश्यक कामको लागि पनि प्रशासनको अनुमति चाहिने



काठमाडौं । जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । लकडाउनको बेला यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।
कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरिएको गृहमन्त्रालयका केदारनाथ शर्माले बताउनु भयो । यसअघि गृहमन्त्री, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकमा लकडाउनलाई कडाइ गर्ने निष्कर्ष निकालेको थियो ।
शर्माका अनुसार अति आवश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन दिनुपर्ने छ र उपयुक्त देखिएमा प्रमुख जिल्ला अधिकारीले पास जारी गर्नेछन् । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी पास चाहिएमा गृह मन्त्रालयको पूर्वस्वीकृति चाहिने छ भने सन्चारकर्मीहरु भने सूचना विभागबाट जारी भएको पास देखाएर आउ–जाउ गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ५४ बजे