मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरकी कोरोना संक्रमित ६ बर्षीया बालिकाको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ । जिल्लाबाट आएका प्राविधिकहरुको टोलीले शुक्रबारबाट प्राविधिकसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको हो । शुक्रबार बालिकाको सम्पर्कमा रहेका भनिएका ७० जनालाई पहिचान गरिएको छ ।
यसमा बालिकाका परिवारभित्रका मान्छे, आफन्त, छिमेकी, साथीसंगी, बालिकालाई काठमाण्डौँसम्म पुर्याएका सवारी चालक, उनका परिवार आदिको शुक्रबार पहिचान भयो भने शनिबार मध्यान्ह १२ बजेसम्म कन्ट्याक्ट ट्रेसिङ्ग सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई बताउनु भयो । उहाँका अनुसार पहिचान भएका सबै ब्यक्तिलाई सेल्फ अर्थात् होम क्वारेनटाइनमा राखिएको छ ।
दुई प्राविधिकसहितको टोली बनाएर यो काम भइरहेको छ । एक टोली बालिकाको घर र त्यससंग सम्वद्ध ब्यक्तिहरुको पहिचानमा खटिएको छ भने अर्को टोली बाणगंगा स्कुलको कवारेनटाइनमा रहेर दूध डेरीका संचालक, गाडीका चालक, उनीहरुको परिवार र अरु उनीहरुसंग सम्पर्कमा आएका ब्यक्तिको पहिचानमा खटिरहेको पौडेलले बताउनु भयो ।
अब कन्ट्रयाक्ट ट्रेसिङ सकेपछि ३ दिनभित्र (आइतबार, सोमबार) सम्म सबैको स्वाब संकलन गरी पिसिआर जाँच हुने पौडेलले बताउनु भयो । पूर्ण त्रासमा रहेका गाउँलेबासी नगरले लिएको पहल पछि शान्त हुन थालेका छन् । अहिले ठाकुरापुरबासी सबै घरभित्रै बसिरहेका छन् । गाउँलेले स्वाब संकलनको लागि ढिलाई भइरहेको र पिसिआर जाँच गर्न माग गरेको खबर मायादेवी अनलाइनले पहिलोपटक लेखेपछि नगरपालिका आजैबाट थप सक्रिय भएर सो काममा लागेको थियो ।
यस्तै नगरपालिकाले भविष्यमा आउनसक्ने भवितव्यको लागि थप ५ टोली बनाएर परिचालित भएको छ । वडाका स्वास्थ्यकर्मीका इन्चार्जलाई सोही इलाकाको इन्चार्ज तोकेर मोतिपुर भलवाड, हथौसा पटना, कोपवा गजेहडा, चारनम्बर पिपराको लागि ५ टोली बनाइएको पौडेलले बताउनु भयो ।
टोलीले भारत लगायतका स्थानबाट भागेर आएकाहरुलाई पहिचान गर्ने, धैर्य रहन नगरबासीलाई प्रेरित गर्ने र आकस्मिक रुपमा गर्नु पर्ने कामहरु गर्ने छन् । नगरले कोरोना संक्रमित बाणगंगाकी ६ बर्षीया बालिकाको अवस्था सामान्य रहेकाले नआत्तिन पुनः अनुरोध गरेको छ ।
प्रतिक्रिया