१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाबाट प्रदेशमै सबैभन्दा बढी कपिलवस्तु प्रभावितः तर, उपचारका लागि अस्पताल छैन !



दीपा महत, चार नम्बर ।
प्रदेशका १२ जिल्ला मध्ये कोरोना भाइरसको संक्रमणमा तराईका ५ जिल्ला परिसकेका छन् । बाँकेबाट कोरोना संक्रमितको संख्या देखिन थालेको प्रदेश ५ मा पछिल्लो समय नवलपरासीमा देखियो ।

केहि दिन बाँके प्रदेशमै पहिलो कोरोना संक्रमित जिल्लामा परिचित थियो । लगत्तै रुपन्देहीका एक व्यक्तिमा संक्रमण देखियो । उनी निको भएर अहिले घर समेत फर्किसकेका छन् ।

छिमेकी जिल्लामा कोरोना संक्रमित देखिदा कपिलवस्तुले आफुलाई पूर्ण सुरक्षित ठानेको थियो । तर, बैशाख २५ गते साँझपख जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित मायादेवी गाउँपालिकाबाट कोरोनाले घण्टी बजायो । त्यस दिन दुई जना एकै पटक संक्रमित भेटिएका थिए । लगत्तै अर्को दिन तीन जनामा संक्रमण देखियो । यो रिपोर्टमा छिमेकी शुद्धोधन गाउँपालिकामा समेत कोरोनाको घण्टी बजेको थियो । हाल जिल्लाका ७ स्थानीय तह कोराना संक्रमणमा परिसकेका छन् भने विजयनगर गाउँपालिकाका एक जनामा पनि कोरोना देखिएको जनाइएको छ । ती संक्रमितको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो रिपोर्टमा नगरेपनि जिल्ला स्वास्थ्य कार्यालयले यसको पुष्टि गरिसकेको छ । विजयनगरसंगै जिल्लाका ८ स्थानीय तह संक्रमित भएका हुन् ।

यसरी एक पछि अर्को गर्दै संक्रमणदर फैलिएर शुक्रबार दिउँसोसम्म ४० जना कोरोनाका विरामी भएका छन् । जुन प्रदेशमै सबैभन्दा बढी हुन् । पछिल्लो रिपोर्ट अनुसार बाँकेमा ३३ जना, रुपन्देहीमा २८ जना, बर्दिया र नवलपरासीमा एक एक जना संक्रमित भेटिएका छन् । उनीहरु मध्ये अधिकांश संक्रमितको बुटवलमा उपचार भैरहेको छ ।

तराईको हुम्ला भनेर परिचित कपिलवस्तु सबैभन्दा पछाडि परेको जिल्ला हो । देश संघीयतामा गएसंगै विकासले तीव्र फड्को मार्ने अपेक्षा जिल्लाबासीमा थियो । तर, तीन बर्षमा खासै विकास नभएको जिल्लाबासीको गुनासो छ । अहिले देखिएको परिस्थितीले यस्तै देखाएको सरोकारवालाको टीप्पणी छ ।

कोरोना संक्रमित ४० जना पुगेपनि उपचारका लागि बुटवल पठाउनुपर्ने बाध्यता छ । जिल्लामा अहिलेसम्म कोरोना अस्पताल छैन् । संक्रमितलाई एम्बुलेन्सले बुटवल ओसारी रहेको छ । कपिलवस्तुका संक्रमितले बुटवलमा बनेको कोरोना अस्पताल भरिदै गएको छ भने उत्तिकै मात्रामा रुपन्देहीमा संक्रमित थपिदा झन जटिलता पैदा भएको छ । अस्पतालको अभावले संक्रमितलाई कहाँ लगेर उपचार गराउने हो सरोकारवालालाई टाउँको दुखाई बनेको छ ।

संक्रमित मध्ये ४ जना सुरक्षाकर्मीलाई तौलिहवास्थित तिलौराकोट होटलमा राखिएको छ । कतिपय संक्रमित सेल्फ क्वारेनटाइनमा रहेका छन भने तिनीहरुलाई व्यवस्थापनको तयारी भैरहेको स्रोतले जनाएको छ । अझै ९ जना संक्रमितलाई अस्पताल लगिएको छैन् ।

अहिले २५ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पतालमा ४ जना, टिचिङ अस्पताल महाराजगञ्ज र कपिलवस्तु अस्पतालमा गरि एक एक जनाको उपचार भैरहेको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले कोरोना संक्रमितका लागि भनेर अस्पताल नबनाइएको तर अब बनाउने आवश्यकता देखिएको बताउँनुभयो । बुधबार जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तु बहुमुखी क्याम्पसमा ५० बेडसम्मको अस्थायी अस्पताल बनाउने निर्णय गरेको बताउँनुभयो । अस्पताल बनाउँदा चाहिने आर्थिक जोहो र जनशक्तिका लागि प्रदेश सरकारसंग माग गरिएको उहाँले जनाउनुभयो ।

विहीबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना अस्थायी अस्पताल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । त्यसको लागि आवश्यक काम गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई बैठकले अख्तियारी प्रदान गरेको छ । जिल्लामा चाँडै कोरोना विशेष अस्पताल बनाउनु पर्ने जिल्लाबासी माग गर्छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ३ : २२ बजे