१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ठाकुरापुरबासी भन्छन् सबै क्वारेनटाइनमा बस्छौँ, बालिका सम्पर्क ब्यक्तिको ‘पिसीआर’ रिपोर्ट तु आउनुपर्‍यो !



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
बाणगंगा नगरपालिकाको कोरोना उद्गम स्थल वडा नम्बर ४ ठाकुरापुरबासीले कोरोना संक्रमित ६ बर्षीया बालिकाको सम्पर्क रहेका ब्यक्तिको स्वाब संकलनमा भएको ढिलाईमा आपत्ति जनाएका छन् । विहीबार विहान गाउँमा पहिलोपटक कोभिड-१९ को संक्रमण देखिएपछि आतंकित बनेका त्यहाँका बासिन्दाले सरोकारवाला निकायले ती बालिकाका परिवार र उनको सम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन गरी पिसीआर रिपोर्ट आउन ढिलाई भएको बताएका हुन् ।

स्थानीय युवा समाजसेवी मिलन चालिसेले विहीबार विहान रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादसंग कुरा गर्दै संक्रमण पुष्टि भएको २४ घण्टा वितिसक्दा समेत बालिकाका सम्पर्क ब्यक्तिको स्वाब संकलन कहिले हुने र रिपोर्ट कहिले आउने अत्तेपत्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सिंगो गाउँ सेल्फ क्वारेनटाइनमा छ । मानिसहरु त्रासमा छन् । ती बालिकालाई कसले कोरोना सार्‍यो ? परिवारको सदस्यले सारे या दूध डेरीका संचालक र डेरीका गाडी चालकले सारे चौतर्फी जिज्ञासा छ ।” उनीहरुको कोरोना रिपोर्ट (पिसीआर जाँच) सार्वजनिक नहुँदासम्म कोही पनि बाहिर निस्कने अवस्था छैन ।

‘बालबच्चादेखि सबैमा कोरोनाको डर छ । त्यसैले तुरुन्त उनीहरुको पिसीआर जाँच गरी रिपोर्ट सार्वजनिक गर्नुपर्दछ । यो मेरो माग मात्र होइन सिंगो गाउँलेको माग हो, रिपोर्टपछि गाउँलेहरु सबै क्वारेनटाइनमा बस्न परे पनि तयार छौँ, उहाँले थप्नु भयो ।’

चालिसेले सरोकारवाला निकायले बाणगंगा स्कुलको क्वारेनटाइनमा बालिकासंग सम्बन्धित केही ब्यक्तिलाई राखिए पनि कोरोना जाँचमा विलम्ब भएको दोहार्याउनु भयो । उहाँले क्वारेनटाइनमा राखेर आज भोलिमा कोरोना रिपोर्ट बाहिर नआएमा स्थिति तनावग्रस्त हुन सक्नेतर्फ सबैको ध्यानाकर्षण गराउनु भयो ।

स्थानीय नवप्रभात युवा क्लवका अध्यक्ष समेत रहनु भएका चालिसेले गाउँलेको मनोबल उच्च बनाउन युवाहरु कस्सिएर लागेको पनि बताउनु भयो । स्थानीय युवाहरुले गाउँलेहरुलाई नै क्वारेनटाइनमा राख्नु परे पनि केही छैन । बस्छौँ । तर कोरोना रिपार्ट छिटै आउनु पर्ने माग राखेको पनि सोही कार्यक्रममा बताउनु भयो ।

बालिकाका हजुरबुबा स्थानीय समाजसेवी भएको हुँदा उहाँको धेरैसंग सम्पर्क रहेको समाजसेवी मुमाराम चालिसेले बताउनु भयो । चालिसेले बालिकाका हजुरबुबा, आमा र छिमेकी, बालिकाको साथी लगायतको तुरुन्त स्वाव परीक्षण गर्नुको विकल्प नभएको उहाँको भनाई छ । उहाँले शिक्षण अस्पतालबाट कोरोना संक्रमण भएको हो भने पनि त्यसको रिपोर्ट चाँडै आउनु पर्ने उहाँको माग छ । यसको लागि आफूहरुले यस क्षेत्रका सांसद, जनप्रतिनिधिसंग कुरा राखिसकेको पनि उहाँले मायादेवी अनलाइनलाई बताउनु भयो ।

गाउँलेको यो गुनासो र माग सुनिसकेपछि हामीले तुरुन्त नगर प्रवक्ता विष्णु पौडेललाई फोन गरी यो समस्या सुनाएका थियौँ । उहाँले एक दुई दिनभित्र त्यो समस्या समाधान गर्ने गरी काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमण भएपछि ठाकुरापुरबासीको मनोविज्ञान गिरेको छ । उहाँहरु त्रसित हुनुभएको छ । हामीले यो कुरा बुझेका छौँ । धैर्यता नगुमाउनु हुन आग्रह गर्दछु ।”

उहाँले गाउँलेबासीलाई बाहिर ननिस्कन विन्ति गर्दै संघीय सांसद तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेव, प्रदेश सांसद विष्णु पन्थी लगायतलाई यो विषय गम्भिर रुपमा राखेको भन्दै छिट्टै कोरोना संक्रमित बालिकासंग सम्बन्ध राख्ने सबैको पिसीआर जाँच हुनेमा आश्वस्त पार्नुभयो ।

उहाँले पनि स्वास्थ्य मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगर्दा समस्या भएको बताउनु भयो । उहाँले जेठ ५ गतेसम्म बाणगंगाको सिद्धार्थ कयाम्पसको क्वारेनटाइनमा रहेका ५५ भन्दा बढीको स्वाब संकलन गरिसक्ने र त्यो अगाडी नै ती बालिकाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिने प्रतिवद्धता जनाउनु भयो ।

ठाकुरापुरको कोरोना संक्रमणको घटनाले सिंगो नगर त्रसित अवस्थामा रहेको छ भने त्यससंग सिमा गाँसिएका झुँगा, हरिहरपुर, सिद्धिपुर, गजेहडा लगायतका गाउँका जनता पनि बढी आतंकित भएका छन् । गजेहडा र ठाुकरापुरको नाकामा अहिले थप कडाई गरिएको सोही वडाका वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

कोरोना जेखिमको हिसाबले कपिलवस्तु प्रदेश ५ कै सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँका १० पालिकामध्ये बाणगंगासहित ८ पालिका प्रभावित भएका छन् । गत विहिबार मायादेवी गाउँपालिकाबाट सुरु भएको कोरोना संक्रमणको दर शुक्रबारसम्म आइपुग्दा ह्वात्तै बढेको छ । यहाँ यो ८ दिनको बीचमा ४० जना संक्रमित भइसकेका छन् । कतिपय पालिकाको स्वाब रिपोर्ट आउन बाँकी रहेकाले यो संख्या बढ्न सक्ने धेरैको अनुमान छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : ०७ बजे