१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतबाट लुकेर कपिलवस्तुका कुन पालिकामा कति आए ? हेर्नुहोस पूरा विवरण



दीपा महत, चारनम्बर ।
कपिलवस्तुका १० स्थानीय तहमा ४ हजार ७ सय ३ जना क्वारेनटाइनमा रहेका छन् । बैशाख अन्तिम साता चोरबाटो लुकीछिपी भारत हुँदै एकाएक हजारौं नेपाली जिल्ला छिरेका थिए । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनमै दोस्रो मुलुक हुँदै लुकीछिपी कपिलवस्तु छिर्नेको संख्यामा बृद्धि भएपछि कोरोनाको जोखिम जिल्लामा उच्च देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहीबार साँझ उपलब्ध गराएको रिर्पोट अनुसार सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा ९ सय २० जना क्वारेनटाइनमा रहेका छन् । महाराजगञ्ज भारतीय सिमासंग जोडिएको नगरपालिका हो । अहिलेसम्म यो नगरपालिका कोरोना जोखिमबाट प्रभावित भएको छैन् । यद्यपि पिसीआर चेकजाँच ज्यून मात्रामा गरिएकाले कोरोनाको जोखिम नदेखिएको सरोकारवाला बताउँछन् ।

महाराजगञ्ज पछि कृष्णनगरमा ७ सय ७० जना क्वारेनटाइनमा रहेका छन् । विहीबारसम्म यहाँ ८ जना कोरोना संक्रमित भेटिई सकेका छन् । जसमा ४ सुरक्षाकर्मी रहेका छन् भने एक जना कृषि शाखाका कर्मचारी रहेको नगरपालिकाले जनाएको छ । अरु तीन जना हालै भारतबाट आएका सर्वसाधारण हुन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतीय सिमावर्ती यशोधरा गाउँपालिकाका क्वारेनटाइनमा बस्नेहरुको चाँप अत्याधिक छ । यहाँ अहिलेसम्म ६ सय ३८ जना क्वारेनटाइनमा रहेका छन् । गाउँपालिका भित्र विद्यालय तथा सार्वजनिक भवन कम हुँदा क्वारेनटाइनमा राख्न समस्या भैरहेको गाउँपालिकाले जनाएको छ । यशोधरामा कोरोना संक्रमित १२ जना छन् ।

एक जना कोरोना संक्रमित भेटिएका शुद्धोधन गाउँपालिकाका क्वारेनटाइनमा ५ सय ५३ जना रहेका छन् ।

जिल्लामै सबैभन्दा पहिला कोरोना संक्रमित देखिएको मायादेवी गाउँपालिकाका क्वारेनटाइनमा ४ सय ७८ जना रहेका छन् । यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

वडा नं. १० र वडा नं. ७ मा गरेर चार जना कोरोना संक्रमित देखिएको बुद्धभूमि नगरपालिकामा ३ सय ६८ जना क्वारेनटाइनमा रहेका छन् । नगरका १० ओटै वडामा निर्माण भएका क्वारेनटाइमा भारतबाट लुकेर आउने रहेको नगरपालिकाले जनाएको छ ।

विहीबार मात्र पहिलो कोरोना संक्रमित फेला परेका विजयनगर गाउँपालिकामा ३ सय ६५ जना क्वारेनटाइनमा रहेका छन् । भारतबाट आउनेको संख्या तीव्र भएपछि विजयनगरले गाउँ गाउँमा पुगेर व्यक्ति पहिचान गर्दै क्वारेनटाइनमा व्यवस्थापन गर्दै आएको छ ।

९ जना कोरोना संक्रमित देखिएको कपिलवस्तु नगरपालिकामा ३ सय ५७ जना क्वारेनटाइनमा रहेका छन् । ७ वडामै संक्रमण देखिएको सदरमुकाम तौलिहवा क्षेत्रमा रहेको कपिलवस्तु नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको छ । ९ जना संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको पाइएको छ । संक्रमित पनि नगरबासी नै हुन् ।

विहीबार साँझसम्म कोरोनाको कुनै संक्रमण नदेखिएको मुख्य व्यापारिक केन्द्र समेत रहेको शिवराजनगरपालिकामा २ सय ७२ जना क्वारेनटाइनमा रहेका छन् ।

जिल्लामा सबैभन्दा कम वाणगंगा नगरपालिकाका क्वारेनटाइनमा रहेका छन् । नगरको सिद्धार्थ क्याम्पसमा निर्माण गरिएको क्वारेनटाइनमा ५२ जना रहेका छन् । विहीबार काठमाडौं उपचारको क्रममा वाणगंगा ४ ठाकुरापुरकी ३ बर्षीया बालिकालाई कोरोना संक्रमण देखिएको छ । यसले वाणगंगा कोरोनाबाट प्रभावित बनिसकेको छ ।

क्वारेनटाइनमा बस्नेहरुको संख्यामा बृद्धि भएसंगै स्थानीय तहलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ५४ बजे