सन्धिखर्क ।
फौजी किराले मकै बाली सखाप पार्न थालेपछि सितगंगा नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् । केही सातायता फैलिएको फौजी किराको प्रकोपले मकै, तरकारी काँक्रो, लगायतका सबै बाली नष्ट पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् ।
सितगंगा नगरपालिकाको वडा नम्बर ७, ८, ९ र ११ मा किराले मकै बालीमा असर पारेको छ । ती क्षेत्रमा एक हजारभन्दा बढी क्षेत्रफलमा लगाएको मकैबालीमा फौजी किरा लागेको हो ।
फौजी किराले मकै सखाप पार्न थालेको किसानहरुको गुनासो बढेपछि नगरपालिकाको कृषि शाखाबाट अनुगमन गरी विवरण संकलन गरेको सितगंगा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अर्जुन गौतमले बताउनुभयो ।
नगरपालिकाको कृषि शाखाको टोली फिल्डमै गएर फौजी किराको प्रकोप देखिएका वडामा केही किटनाशक औसधि छर्किएको छ । कृषकलाई फौजी किरा नियन्त्रणको घरेलु विधि प्रविधि बारे जानकारीसमेत दिएको प्रमुख प्रसासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।
सितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार स्थानीय स्तरमा प्रयाप्त मात्रामा औषधि नहुँदा परीक्षणको लागि स्थानीय मेडिकलबाट केहि मात्रामा औषधि छर्किएको र अनुगमन टोलीले ल्याएको रिपोर्टका आधारमा नगरपालिकाले औषधि खरीद गरेर छर्कने योजना बनाएको छ ।
प्रतिक्रिया