१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अब तौलिहवाको कपिलवस्तु बहुमुखी क्याम्पसमा कोरोना अस्थायी अस्पताल



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश सरकारले कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने भएको छ । विहीबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले कोरोना संक्रमितको संख्यालाई मध्यनजर गरी यस्तो निर्णय गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तु बहुमुखी क्याम्पसमा कोरोना अस्थायी अस्पताल बनाउन प्रदेश ५ सरकारसंग पहल गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा प्रदेश मन्त्रीपरिषद बैठकले क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय गरेको छ ।

यस्तै वैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा क्वारेन्टाइनको विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने, बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने, बुटवलमा कोरोना अस्पतालमा २ सय बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ५८ बजे