१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मीमा बाँदरले दिए तनावः नियन्त्रणका लागि स्थानीय सरकार गुहार्दै किसान



गुल्मी ।
गाउँमा लगाइएको खेतीबाली बाँदरले नष्ट गरिदिएपछि नियन्त्रणका लागि सहयोग गरिदिन भन्दै स्थानीयहरुले गाउँपालिकालाई आग्रह गरेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका २ अर्बेनीका किसानले लगाएको खेतीपाती र घरमै राखेको अन्न बाँदरले नष्ट गरिदिएपछि बाध्य भएर गाउँपालिका गुहारेका स्थानीय रेशमराज न्यौपानेले जानकारी दिनुभयो ।

गाउँमा बनाइएको बाँदर नियन्त्रण समितिका अध्यक्षसमेत हुन् उनी । घरमै राखेको अन्न पनि बाँदरले खाइदिने गरेको उनले गुनासो गरे । गाउँपालिकासँग आर्थिक तथा भौतिक सहयोग माग गरिएको कालिगण्डकी गाउँपालिका २ का वडाध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए ।

पछिल्लो समयमा गाउँमा बाँदरको आंतक बढ्दै गएको छ । अन्नबाली घरमा ल्याउनै नपाइने र ल्याउर घरमा राखे पनि बाँदरले नष्ट गरिदिने भन्दै स्थानीय हैरान बनेका छन् । गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बाँदर आतंकबारे आफू जानकार रहेको र यसलाई समाधान गर्ने बताएका छन् । बाँदर धपाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फतका युवाहरू परिचालन गरिने बताइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  २ : ३९ बजे