मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएपछि तीन दिनसम्म आवहान गरेको वाणगंगा शिललाई जेठ ५ सम्म लैजाने निर्णय गरेको छ । लकडाउनको समिक्षा गर्दै संघले शुरुदेखि नै कपिलवस्तु जिल्लामै खेलेको नेतृत्वदायी भूमिका प्रंशसनीय रहेको ठहर गर्दै आगामी दिनमा पनि कोरोना रोकथाम र नियन्त्रणमा सवै निकायसंग सहकार्य गरेर अघि बढ्ने संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरकी ६ बर्षीय एक बालिकालाई कोरोना पोजेटिभ देखिएपछि लकडाउनलाई अझ कडाई बनाउने जनाएको छ । सचिवालयको विहीबार बसेको वैठकले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जेठ ५ गतेसम्म जारी राखेको जिल्ला शिललाई संघले पनि सो निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढेसंगै कपिलवस्तु जिल्लालाई वैशाख २९ गते दिउसो ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गरिएको छ ।
साथै वैठकले क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित बनाउन, वडा वडामा निगरानी र वाहिरबाट आएका व्यक्तिको रेकर्ड राख्न पनि नगरपालिकालाई सुझाव दिने निर्णय गरेको छ । अवका दिनमा संघको वैठक पनि इन्टरनेट प्रविधीको माध्यमबाट संचालन गर्ने र सामाजिक दुरी कायम गर्नुपर्नेमा जोड दिइएको संघका महासचिव लक्ष्मण अधिकारीले बताउनुभयो । वैठकमा संघका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया