१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगाको पहिलो कोरोना केन्द्र ठाकुरापुरः अस्पतालले सार्‍यो या बालिका कोरोना लिएर पुगिन् ?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका ७ पालिकामा कोरोना भाइरस पुष्टि भए पनि विहिबार विहानसम्म बाणगंगा नगरपालिका सुरक्षित नै थियो । नगरबासी पनि कोरोनालाई नगरमा भित्रन नदिनको लागि नगरले गरेको कडा खालको लकडाउनलाई पूर्ण पालना गरिरहेका थिए । तर, विहीबार विहान करिब साढे ८ बजेतिर एउटा खबर आयो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बाणगंगामा पनि कोरोना संक्रमण पुष्टि भयो भनेर ।

मायादेवी रेडियो र मायादेवी अनलाइनले कपिलवस्तुमा पहिलोपटक यो खबर प्रशारण, प्रकाशन गरे । यो खबर बाहिर आउने वित्तिकै बाणगंगाबासीलाई सुरुमा पत्यार भएन । जब मिडिया र सामाजिक संजालमा खबर छ्यापछ्याप्ती भयो । त्यसपछि सबैले पत्याए ।

बाणगंगाकै महत्वपूर्ण मानिने वडा नम्बर ४ र यसको दक्षिणी स्थानको ठाकुरापुरकी ६ बर्षीया बालिकामा कोरोना संक्रमण भएपछि ठाकुरापुरबासी त महात्रास मै छन् नै वडा नम्बर ४ अनि समग्र बाणगंगाबासी नै कोरोनाको कारण आतंकित बनेका छन् ।

उता अहिले ती बालिकाको उपचार भएको शिक्षण अस्पतालको वार्ड नै सिल गरिएको छ भने त्यहाँका स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको छ ।

यता ती बालिकालाई बैशाख २७ गते बेलुका काठमाडौं लगेको भनिएको लु १ क ३२३९ नम्बरको गाडी र डेरी उद्योगलाई कपिलवस्तु प्रहरीले सिल गरेको छ भने चालक वाणगंगा ४ निवासी सीताराम थारुलाई क्वारेनटाइनमा राखिएको छ ।

अहिलेसम्म प्राप्त भएको समाचार अनुसार घाँटी दुख्ने व्यथाले च्यापेपछि बालिकाका परिवारले तत्काल बालिकालाई दुध बोक्ने गाडीको सहायता खोजेको देखिन्छ । यसपछि काठमाण्डौँदेखि बाणगंगासम्म अनेक चर्चा हुन थालेको छ । राजधानीमा स्वास्थ्य मन्त्रालयको टोलीले ती बालिकालाई शिक्षण अस्पतालले कोरोना सार्‍यो या बालिकाले कपिलवस्तुबाट कोरोना लिएर पुगिन् भन्ने अनुसन्धान सुरु गरेको छ भने यता स्थानीय स्तरमा ती बालिकामा कसरी कोरोना भयो ? दूध डेरीका गाडी चालकले कोरोना सारे, या शिक्षण अस्पतालले सार्‍यो ! या त परिवारका कोही सदस्यले नै सारे केही भन्न सकिने अवस्था छैन । यसले सिंगो नगरलाई नै अलमलमा पारेको छ ।

बालिकाको घर भएको ठाकुरापुरमा रहेको नवप्रभात युवा क्लवका अध्यक्ष मिलन चालिसेले गाउँ आतंकित भएको मायादेवी अनलाइनसंग बताउनुभयो । उहाँका अनुसार यसभन्दा बालिकाको चार पटक घाँटीको अपरेशन गरिएको थियो ।

त्यही अप्रेसनको शिलशिलामा बालिका उपचारको निम्ति राजधानी गएको भन्दै कोरोना उतैबाट सरेको हो कि भन्ने उहाँको आंकलन छ । उहाँले आफू पनि परिवारसंग परिचित भएकाले कसैमा पनि कोरोनाको लक्षण नदेखिएकाले कि त दूध डेरीका चालकले सारे कि त अस्पतालले सार्यो उहाँले भन्नुभयो । उहाँले बालिकाका हजुरबुबाले काठमाण्डौँ जानुअघि बैङ्क लगायत बिभिन्न स्थानमा गएको र बिभिन्न ब्यक्तिसंग पनि भेटघाट गरेकाले गाउँभरी यसको त्रास रहेको बताउनुहुन्छ । उहाँले गाउँभरीकालाई नै कवारेनटाइनमा राख्नु पर्ने अवस्था आएको पनि बताउनु भयो ।

वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले उक्त दूध डेरीका २ वटा गाडी रहेकाले अर्को लु १ प ३८१३ नम्बरको गाडी, त्यसका चालक र ३ जना स्टाफलाई पनि नियन्त्रणमा लिइसकेको बताउनु भयो । वडाध्यक्ष क्षेत्रीले अब बालिकाको परिवार, दूध डेरीका संचालक, गाडी चालक र स्टाफ सबैलाई क्वारेनटाइनमा राख्ने तयारी भएको बताउँदै अहिलेको लागि ठाकुरापुर र गजेहडालाई सिल गरिएको बताउनु भयो । यहाँ अब हिजोको दिनमाभन्दा थप कडाई हुने छ ।

वडाध्यक्ष क्षेत्रीले बालिकाको बारेमा स्वास्थ्यमन्त्रालयले आधिकारिक जानकारी नदिँदासम्म अन्योल नै रहेको बताउनु भयो । संक्रमणको बारेमा बालिकाका हजुरबुबालाई पटकपटक फोन लगाउँदा पनि नउठेकाले थप बुझ्न नपाएको क्षेत्रीको भनाई छ । हजुरबुबा बालिकाको उपचारमा राजधानीमै रहनु भएको छ । बालिकाको अवस्था सामान्य नै रहेको बताइएको छ । उहाँले सबै वडाबासीलाई सचेत रहन अनुरोध गर्दै लक डाउनको इमान्दारपूर्वक पालना गर्न अनुरोध गर्नु भएको छ ।

यता गाउँका सर्वसाधारणले पनि यो संक्रमणले दुखी भएको बताएका छन् । गाउँमा पछिल्ला समय कोही पनि दोस्रो, तेश्रो मुलुकबाट नआएको भन्दै कहाँबाट यस्तो संक्रमण आयो पत्ता लगाउन माग गरेका छन् । स्थानीय युवा समाजसेवी प्रविन पौडेलले ती बालिका, परिवार, छरछिमेक, डेरीका संचालक र ड्राइभरहरुको कन्ट्र्याक ट्रेसिङ पत्ता लगाउनु पर्ने बताउनु भयो । उहाँले बालिका कहाँकहाँ खेल्थिन्, कहाँकहाँ गईन् सबै पत्ता नलगाएसम्म स्थिति भयावह हुने बताउनु भयो ।

कतिले घरमै रहेकी बालिकालाई एक्कासी कसरी संक्रमण भयो भनेर अचम्म मानिरहेका छन् । कपिलवस्तुका अन्य सात पालिकामा देखिएको कोरोना र बाणगंगा नगरपालिकामा देखिएको कोरोना संक्रमण फरक खालको छ । अन्य पालिकामा भारतबाट आएका ब्यक्ति संक्रमित भएका छन् भने बाणगंगाको यो केस घरेलु हो । त्यसैले पनि यो संक्रमणलाई केन्द्रले नै बढी चासो दिएको छ ।

यता बाणगंगा नगरपालिकाले धैर्यता नगुमाउन नगरबासीमा अनुरोध गरेको छ । नगर प्रवक्ता विष्णु पौडेलले बालिकाको विषयमा केन्द्रबाट नै अनुसन्धान सुरु भएकाले नआत्तिन आग्रह गर्नुभयो । कोरोनालाई जित्न आत्मविश्वास जरुरी रहेकाले संयमिति रही लक डाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ०४ बजे