एजेन्सी ।
उरुग्वे स्ट्राइकर एडिन्सन काभानीले आफू पेरिस सेनट जर्मन (पीएसजी) मै रहनेमा आशावादी रहेको बताएका छन् । आफ्नो फुटबल करियरको केही वर्ष मात्र बाँकी रहेकाले आफू पीएसजीमै रहनेमा आशावादी रहेको बताएका हुन् ।
तर, कभानीको पीएसजीमा भविष्य अनिश्चित छ । पीएसजीमा उनको सम्झौता जुनको अन्त्यमा समाप्त हुने भए पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढेको बताइएको छ । तर, फ्रान्सेली दैनिक ल’इक्विपले गरेको सर्वेक्षणमा पीएसजीका समर्थकले काभानीलाई क्लबमै राख्न समर्थन गरेका छन् ।
उक्त सर्वेक्षणमा सहभागी भएको ४६ हजार ५९२ समर्थक मध्येबाट ७७ प्रतिशतले काभानीलाई पीएसजीमै राख्नु पर्ने बताएका छन् । यता काभानीले उक्त पत्रिकासँग कुरा गर्दै आफ्नो करियरको सीमित वर्ष बाँकी रहेको बताएका छन् । तर, अन्त्य पीएसजीमा हुन्छ वा अन्यत्र, आफूलाई थाहा नभएको बताए ।
“मैले यस विषयमा धेरै पटक बोलेको छु । मैले सधैं भन्ने गरेको छु कि फुटबलले मलाई छाड्नु भन्दा बरु म फुटबल छोड्न चाहन्छु,” काभानीले भने ।
काभानी सन् २०१३ मा नेपोलीबाट पीएसजी पुगेका थिए । उनको पीएसजीलाई शीर्ष टोलीका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले छ पटक लिग वानसँगै विभिन्न उपाधि जित्दा च्याम्पियन्स लिगमा भने तुलनात्मक सफलताको अभाव रहेको छ । उनले पीएसजीका लागि तीन सय खेल खेल्दा दुई सय गोल पूरा गरेका छन् ।
प्रतिक्रिया