१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बलात्कारका आरोपितलाई प्रलोभनमा परि छाडेको भन्दै कपिलवस्तुको गजेहडामा प्रर्दशन (भिडियोसहित)



मायादेवी अनलाइन, चारनम्बर ।
बलात्कारको अभियोग लागेका व्यक्तिलाई त्यसै छाडिएको भन्दै कपिलवस्तुमा प्रर्दशन गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडा चोकमा रहेको प्रहरी विट आगाडी विहीबार विहान प्रर्दशन गरिएको हो ।

पटक पटक गरी चार बालिकालाई बलात्कार गरेको आरोप लागेपछि गत बैशाख १० गते प्रहरीको नियन्त्रणमा रहेका दुई आरोपित मध्येका एकलाई विना कारबाही छाडिएको स्थानीयले आरोप लगाएका छन् ।

बैशाख १० गते पीडकका परिवारले दिएको मौखिक उजुरीको आधारमा आरोपित दुई जनालाई इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेको थियो । त्यसको अर्को दिन पीडकका परिवारले बालिका बलात्कारको आरोप लगाउँदै दुवै जना विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेर आवश्यक प्रमाण जिल्ला अदालत कपिलवस्तुमा बुझाएको थियो ।

सोही प्रमाण लगत्तै अदालतले अभियुक्त राजु बढईलाई छाडेको थियो । बढई छुटेपछि स्थानीयले प्रर्दशन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष कुमार जोशीले आदालतको आदेश बमोजिम एक जनालाई छाडिएको मायादेवी अनलाइनलाई बताउनुभयो ।

अर्का आरोपित तिलकराम गुप्ताको मिसिल सरकारी वकिल कार्यालयमा पेश गरिएको र केहि दिन पछि थप प्रमाण आउने उहाँले बताउनुभयो ।

यता स्थानीयले प्रहरीले आवश्यक प्रमाण नदिएको कारण अभियुक्त छाडिएको आरोप लगाएका छन् । प्रहरीले प्रलोभनमा परेको यस्तो काम गरेको भन्दै यसलाई सच्चाउन चेतावनी दिएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडाका ४७ बर्षीय तिलकराम गुप्ता र १७ बर्षीय राजु बढईलाई चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । गुप्तामाथि दुई नाबालिकामाथि बलात्कार गरेको आरोप थियो भने बढईमाथि चार जनालाई नै बलात्कार गरेको आरोप थियो ।

दुई व्यक्तिको घटना एकै पटक बाहिरिएपनि घटना छुट्टै–छुट्टै समयमा भएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

बलात्कारको यो घटना पनि हालसालै नभएको पाइएको थियो । पीडितका अनुसार दशै, तिहारको समयमा बलात्कार गरेको भएपनि बैशाख ११ गतेमात्र बाहिर आएको हो ।

४७ बर्षीय गुप्तामाथि दुई किशोरीलाई करणी गरेको र एक जनालाई यौन शोषण गरेको आरोप छ भने १७ बर्षीय किशोरलाई चारै जनामाथि बलात्कार गरेको आरोप छ ।

यता पीडकको अभिभावकले आफुहरुलाई फसाउन गम्भीर आरोप लगाइएको दाबी गर्दै आएका छन् । पुरानो घटनालाई अहिले आएर बाहिर निकालेको र यसमा कुनै सत्यता नभएको उनीहरुको दाबी छ ।

हेुर्नहोस छोटो भिडियो..

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  १२ : ४५ बजे