मायादेवी अनलाइन, चारनम्बर ।
विहीबारसम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । विहीबार मात्र कपिलवस्तुका वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकाका दुई जनाका कोराना पुष्टि भएसंगै प्रदेशमा संक्रमित संख्या ९६ पुगेको हो ।
जिल्लाको वाणगंगाकी ६ बर्षीया बालिकालाई उपचारको क्रममा काठमाडौंस्थित महाराजगञ्ज शिक्षण अस्पतालमा कोरोना पोजेटिभ देखिएको हो भने विजयनगर ७ का ३१ बर्षीय पुरुषको भैरहवामा गरिएको स्वाव परिक्षणबाट कोरोना देखिएको हो ।
यता बुधबार साँझ प्रदेश ५ मा मात्र २१ जनामा कोरोना भाइरस देखिएको थियो । जसमा रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ र नवलपरासी पश्चिममा १ जनामा कोरोना पुष्टि भएको थियो । यसभन्दा अगाडी बाँके र बर्दियामा पनि कोरोना संक्रमण देखि सकेको छ ।
प्रदेश ५ मा तराईका ६ जिल्ला रहेकोमा ५ जिल्लामा कोरोना देखिएपनि दाङ विहीबार विहानसम्म सुरक्षित छ ।
दाङमा उच्च सतर्कता अपनाईदै
बुधबार भएको मुख्यमन्त्री र प्रदेश सांसद सहितको सर्वपक्षीय छलफलमा भारत हुँदै आएका व्यक्तिहरुबाट कोरोनाको सङ्क्रमण देखिएको निष्कर्षसहित उच्च सतर्कता अनपाउने निर्णय भएको हो । भारतमा रेल सेवा सञ्चालन र लकडाउन केही खुकुलो बनेपछि भारतमा रहेका नेपालीहरु अव स्वदेश फर्कन सक्ने त्यसको व्यवस्थापनमा लाग्नु पर्ने निष्कर्ष बैठकले गरेको छ ।
६ हजारभन्दा बढी नेपाली दाङ आउनसक्ने आकलनसहित बैठकले उनीहरु सबैको कोरोना परीक्षण र क्वरेन्टीनमा अनिवार्य रुपमा बसाल्ने गरी स्थानीय पालिकाहरुलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ ।
छलफलमा पालिका प्रमुख तथा प्रतिनिधिहरुले भारतमा काम गर्ने नेपालीहरु सीमा क्षेत्रमा आउन थालेपछि घर ल्याउन दबाब बढेको बताएका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई घरसम्म ल्याउन अनिवार्य कोरोना परीक्षण गर्न र तिनीहरुको व्यवस्थापनको लागि केन्द्र र प्रदेश सरकारले तत्काल योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भन्नुभयो, ‘भारतको रुपैडिहा नजिक बाबागञ्जमा बबई गाउँपालिका नागरिक १७ जना नागरिक बसेको खबर आएको छ । हरेक दिन नागरिकहरुले फोन मार्फत जानकारी दिइरहनु भएको छ । उहाँहरुलाइ कसरी घर सम्म ल्याउने ?’
दाङको सीमा नाका प्रयोग गरेर ६ हजार मानिस भित्रने आकलन गरिएको र ती मानिसहरु आएमा उनीहरुको व्यवस्थापन गर्न क्वरेन्टीन बनाउन तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।
‘गढवा, राजपुर, लमही र राप्ती गाउँपालिकामा क्वरेन्टीन बनाउने तर्फ ध्यान दिएका छौं’, उहाले भन्नुभयोे, ‘क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गरेर मात्रै सम्बन्धित ठाउँमा पठाउन सकिन्छ ।’
छलफलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दक्षिण भारत र दिल्लीबाट नेपाल आउने हरेक व्यक्तिको कोरोना परिक्षण गरिने बताउनुभयो । भारतको क्वरेन्टीनमा बसेकाहरुलाइ स्वास्थ्य परिक्षण नगरी नेपाल फर्काउन थालेपछि कोरोना सङ्क्रमण हुने खतरा रहेको भन्दै उहाले सीमा क्षेत्रमा आउने सबैलाई क्वरेन्टीनमा राखिने र कोरोना परिक्षण गरेर मात्रै घर सम्म पु¥याउन सकिने बताउनुभयो ।
मुख्यमन्त्री पोख्रेलले भारतले डब्लूएचओको मान्यता पालना नगरेकाले सीमा क्षेत्रमा थप झमेला उत्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया