१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एकै पटक १० संक्रमित भेटिएपछि गैँडहवा गाउँपालिका जेठ ५ गतेसम्म सिल



मायादेवी अनलाइन, चार नम्बर ।
एकैदिन ११ जनामा कोरोना देखिएपछि रुपन्देहीको गैँडहवा गाउँपालिका सिल हुने भएको छ । गाउँपालिकालाई कोरोनाको जोखिमबाट जोगाउनको लागि सिल गर्न गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल) ले जानकारी दिनुभएको छ । कपिलवस्तुको चारनम्बरमा रहेको रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादमा विहिबार विहान कुरा गर्दै केवटले जेठ ५ गतेसम्म गाउँपालिका सिल हुने जानकारी दिनुभयो ।

विहीबार सर्वदलीय वैठक बसेर गाउँपालिकालाई सिल गरी नाकाहरुमा कडाई गरिने उहाँले बताउनु भयो । अत्यावश्यकीय सेवामा पनि कडाइ गरिने उहाँको भनाई छ । कोरोना देखिएपछि गाउँपालिकामा त्रास सिर्जना भएकोले नआत्तिन उहाँले सबैलाई आग्रह गर्नुभयो । संक्रमित ब्यक्तिहरु बाहिरी सम्पर्कमा नगई सिधै क्वारेनटाइनमा आएको हुनाल आत्तिहाल्नु पर्ने अवस्था नभएको उहाँले बताउनु भयो ।

रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये गैँडहवामा १० जनामा कोरोना देखिएको छ भने ९ जना एउटै परिवारका छन् । वडा नम्बर २ जोगडा वस्ने उनीहरु वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका पनि उहाँले बताउनु भयो ।

दस संक्रमितमध्ये सात पुरुष र तीन महिला छन् जसको उमेर समूह ४ देखि ४१ वर्ष छ । उहाँले अहिलेसम्म ४० जनाको स्वाब परीक्षण भएको र थप स्वाव परीक्षणको तयारी भएको पनि बताउनु भयो । कोरोना संक्रमणको मुख्य कारण भारतबाट भागेर आएका ब्यक्ति नै भएको उहाँको दाबी छ ।

अहिले पनि त्यहाँ भारतबाट लुकिछिपि नेपालीहरु आइरहेका छन् । यता छिमेकी कञ्चन गाउँपालिकालाई पनि थप कडाई गर्न थालिएको गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : ४८ बजे