९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१० पालिका मध्ये कपिलवस्तुका ८ पालिकामा फैलियो कोरोना



मायादेवी अनलाइन, चारनम्बर ।
१० स्थानीय तह रहेको कपिलवस्तुका ८ पालिकामा कोरोना संक्रमण देखिएको छ । विहीबार विहान वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकाका एक एक जनामा संक्रमण फैलिएसंगै ८ पालिकामा कोरोना देखिएको हो ।

विहीबार वाणगंगा ४ ठाकुरापुरकी एक ६ बर्षीया बालिकामा संक्रमण देखिएको छ । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

विजयनगर गाउँपालिका वडा नं. ७ का एक ३२ बर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । भैरहवामा परिक्षणको क्रममा संक्रमण देखिएपछि उनको अहिले भीम अस्पतालमा उपचार भैरहेको जनाइएको छ । उनी भारतको मुम्बईमा केहि दिन पहिला आएको खुलेको छ ।

यता कृष्णनगरमा बुधबार साँझ देखिएका ८ संक्रमित मध्ये ४ जना सुरक्षाकर्मी रहेका छन् । नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीमा कोरोना देखिएको हो । चार जना भने सर्वसाधारण हुन् । उनीहरु अहिले कृष्णनगरमा रहेको महेन्द्र माविको क्वारेनटाइनमा छन् । उनीहरुलाई थप उपचारका लागि कहाँ लैजाने भन्नेबारे छलफल भैरहेको नगरपालिकाले जनाएको छ ।

जिल्लामा यसभन्दा अगाडी कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका कोरोनाबाट संक्रमित भैसकेका छन् । हाल जिल्लामा कोरोनाको संख्या ४० पुगेको छ । गत विहीबारबाट देखिन थालेको कोरोना संक्रमण आजको बिहीबारसम्म आईपुग्दा ४० पुगेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : ३९ बजे