बुटवल ।
रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका छन् । रुपन्देहीको गैंडहवा गाउँपालिका २ जोगडाका उनीहरू वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका थिए ।
एउटै परिवारका १७ जना मुम्बईबाट आए पनि परिवारका ९ जनामा संक्रमण पुष्टि भएको हो । उक्त परिवारसँगै मुम्बईबाट आएका सोही टोलका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै मुम्बईबाट आई सिधै गाउँपालिकाको वडा २ स्थित जोगडा माविमा बनाइएको क्वारेन्टाइनमा गएका थिए ।
दस संक्रमितमध्ये सात पुरुष र तीन महिला छन् जसको उमेर समूह ४ देखि ४१ वर्ष छ । त्यसैगरी रुपन्देहीमा संक्रमण पुष्टि भएका अन्य दुई जनामध्ये एक कपिलवस्तुका र एक भारतीय नागरिक रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्ट्रल कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । योसँगै बुधबारसम्म रुपन्देहीमा संक्रमित संख्या २८ पुगेको छ ।
प्रतिक्रिया