१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा ५० बेडको कोरोना अस्थायी अस्पताल बनाउने निर्णय !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा ५० बेडको कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट कोरोना अस्थायी अस्पताल बनाउने निर्णय भएको हो ।
यो अस्पताल कहाँ बनाउने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे आज देखिनै पहल थालिने भएको छ । प्रदेश सरकारसंग यसको लागि आवश्यक बजेट माग गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको पछिल्लो स्थितिलाई मध्यनजर गरी सदरमुकाम तौलिहवामा कोरोना अस्थायी अस्पताल बनाउने निर्णय भएको र त्यसको लागि आवश्यक बजेटको माग प्रदेश सरकारसंग गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

‘जिल्लामा पछिल्लो चरण बढेका कोरोना संक्रमितको अवस्थालाई मध्यनजर गरेर जिल्ला सुरक्षा समितिको बैठकले अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरेको हो, यसको लागि प्रदेश सरकारसंग आवश्यक बजेट माग गरिएको छ, प्रजिअ पौडेलले भन्नुभयो, ‘आशा गरौं अस्पताल बनाउन सकिन्छ भन्ने ।’ आवश्यक बजेटको अभाव भयो भने यो कुरा सम्भव नहुने पनि उहाँले बताउनुभयो । कोरोना अस्थायी अस्पताल कपिलवस्तु क्याम्पसमा बनाउन सकिने गरी निर्णय भएको पनि उहाँले सुनाउनुभयो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढेपछि उपचारमा समस्या हुँदै आएको छ । हाल यहाँ भेटिएका संक्रमितलाई बुटवल अस्थायी अस्पताल लगिएको छ । ५० बेड क्षमताको कोरोना अस्पताल बन्न सक्यो भने केही भएपनि राहत मिल्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  ७ : ०६ बजे