१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगाको क्वारेनटाइनबाट निस्किएको खुसीः ‘भारतबाट भागेर आएँ, स्वर्गजस्तो बास पाएँ’



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
बाणगंगा नगरपालिका–३ बरवा घर भएका सन्तोष थारु अहिले बाणगंगा नगरपालिकाले सिद्धार्थ क्याम्पस बुङ्चीमा बनाएको क्वारेनटाइनमा छन् । उमेरले यस्तै २२। २३ वर्ष जति भएका थारु क्वारेनटाइनमा बस्न लागेको बुधबार ५ दिन भयो । भारतमा (कोभिड–१९) अर्थात् कोरोना भाइरसको संक्रमणको फैलावट तीव्र भएपछि मुम्बईबाट उनी आफ्नोे घर वरवा आए लगत्तै उनलाई क्वारेनटाइनमा ल्याइएको थियो । उनीजस्ता ५७ भन्दा बढी ब्यक्ति अहिले नगरपालिकाको क्वारेनटाइनमा बसिरहेका छन् ।

नगरपालिकाको क्वारेनटाइनमा बस्नेहरु दिनप्रतिदिन बढेपछि क्वारेनटाइनको अवस्था बुझ्न बुधबार अपरान्ह मायादेवी टोली उक्त क्वारेनटाइनमा पुगेको थियो । कपिलवस्तुका बिभिन्न पालिकाले निर्माण गरेको क्वारेनटाइन अव्यवस्थित र सुविधाहिन भएको गुनासो सुनिएपछि हामी सिद्धार्थ क्याम्पसको क्वारेनटाइनको अवलोकनमा गयौँ ।

बाणगंगाले क्वारेनटाइन कस्तो खालको बनाएको होला भन्ने हामीमा जिज्ञासा थियो । त्यस अगाडी हामी त्यहाँ गएका थिएनौ ? तर, बुधबार अनुगमनको क्रममा हामी जाँदा क्वारेनटाइन सोँचेभन्दा सुविधासम्पन्न पायौँ । त्यहाँ बस्नेहरुले देखाएको क्रियाकलापले नगरको क्वारेनटाइन कति सुविधापूर्ण छ भन्ने पुष्टि हुन्छ ।

क्वारेनटाइनमा बस्नेमध्ये सन्तोष थारु औधी खुसी छन् । हामी क्वारेनटाइनको भित्र पस्दा उनी औधी खुसी हुँदै मस्तसंग फोनमा गफिँदै थिए । फोन गर्नु सामान्य नै भए पनि उनको फोन गराइमा अनेकौँ खुसी देखिन्थ्यो । यो दृश्यलाई हामीले नजिकबाट नियाल्दा क्वारेनटाइन बसेकोमा सन्तोष थारुलाई कुनै पिर र दुख लागेको रहेनछ ।

दायाँ हात फोनमा । फोन कानमा । बाँया हात खुट्टामा । खुट्टाको हल्का खुम्चाई । साँच्चिकै लोभलाग्दो बसाई । यत्ति मात्र होइन उनको फोेन गराइमा जुन हाँसो र मुस्कान पोखिएको थियो । यसले उनी क्वारेन्टाइनमा बस्दा निकै खुसी छन् भन्ने प्रमाणित गर्दछ । भुँइभरी मार्वल । चट्ट सफा ओढ्ने ओछ्याउने । एसी र पंखाको शीतलतामा बस्न पाउँदा उनले परिवारको अभाव महसुस गरेका छैनन् । यतिखेरसम्म हामीले उनलाई कुनै प्रश्न सोधेका थिएनौँ । उनको क्रियाकलापलाई मात्र हेरिरहेका थियौँ ।

त्यही शिलशिलामा हामीले सन्तोषलाई सोध्यौँ । क्वारेनटाइनमा बस्दाको अनुभूति कस्तो छ सन्तोष जि ? उनले मुस्कुराउँदै भने, ”निकै खुसी छु । मलाई यहाँ घरभन्दा पनि रमाइलो लागिरहेको छ ।” अनि हामीले जिज्ञासा राख्यौँ, फोन गर्दा त निकै खुसी देखिनु हुन्छ नि । उनले भने किन खुसी नहुनु ? म राम्रोसंग बस्न पाइरहेको छु । राम्रो खाना खान पाइरहेको छु भन्दै परिवारलाई जानकारी गराएको हुँ । म एकदमै खुसी छु । हामीले सोध्यौँ होइन होला । प्रेमिकासंग गफ गर्नुभएको होला । उनले भने सबैसंग हल्का गफ त गर्नै पर्यो । उनले थपे म यहाँ पाएको सुविधाले निकै खुसी छु । सबैजना खुसी छौँ । तस्विरले पनि सन्तोष औधी खुसी छन भन्ने प्रमाणित हुन्छ ।

अनि हामीले सन्तोषसंग थप सोध्यौँ, तपाई कसरी यहाँसम्म आइपुग्नु भयो ? सन्तोषले कोरोना नियन्त्रण गर्न भारत सरकारले गरेको लामो लकडाउनपछि आफ्नो थातथलो गुमेको बताए । उनले कहिले हिँड्दै । कहिले ट्रक हुँदै घरसम्म आएर स्वतस्फुर्त क्वारेनटाइन खोज्दै आएको बताए । यहाँ बस्दाको उनको अनुभूति सोचेभन्दा राम्रो छ । उनी भागेर आए पनि स्वर्गजस्तो बास पाएकोमा नगरपालिकालाई धेरै धन्यबाद दिन्छन् ।

भारत या तेश्रो मुलुकबाट आएका ब्यक्तिबाट समाजमा पनि त्रास र शंका बढ्ने भएकाले आफै नगरको कवारेनटाइनमा आएको उनले बताए । उनी अहिले दिनभर मोबाइल चलाउँदै दिन कटाइरहेका छन् । यसको लागि नगरले वाइफाइसमेत ब्यवस्था गरी हरेकका मोबाइलमा जोडिदिएको छ । सन्तोष मात्रै नभएर क्वारेनटाइनमा बस्ने अरु पनि उत्तिकै खुसी रहेको हामीले पायौँ । अहिले त्यहाँ भारतको महाराष्ट्र, बम्बई, लुदिहना, दिल्ली लगायतबाट आएका ब्यक्ति बढी छन् । कोरोनाको ‘इपिसेन्टर’ भारतको मुम्बईका ब्यक्ति भएकाले पूर्ण सावधानी अपनाइएको छ । फरक फरक स्थानबाट आएकालाई फरक–फरक समुह बनाई सामाजिक दुरी कायम गरी मिलाएर राखिएको छ । क्वारेनटाइनमा सबैको विस्तरामा झुल छ । अगाडीपट्टी स्वास्थ्य सामाग्री राखिएको छ । स्वास्थ्यकर्मीको टोली हरदम सेवामा तयार छ । भुई पनि चट्ट सफा छ ।

खाना खाने ब्यवस्था माइकिङबाट हुन्छ भने अलगअलग धारा र अलग अलग शौचालयको ब्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनसंग बताए ।

नगरले क्वारेनटाइनमा बस्नेलाई अहिले कुनै कुराको कमि हुन नदिएको र क्वारेनटाइनका सबै मापदण्ड पुरा गरिएको पौडेलले जनाए । उनले भने–“जति खर्च भए पनि अहिले नगर खर्च गर्न तयार छ । बिभिन्न पालिकाले बनाएका सुविधाहिन क्वारेनटाइनले गलत सन्देश दिएको भन्दै नगरले यसमा सचेत रहेको बताए । उनले आफूहरुको ध्यान उनीहरुलाई खुसी दिलाउनु रहेको भन्दै खानेवस्ने कुरामा जनप्रतिनिधि लगायत सबैको चासो रहेको बताए । एक सय जनासम्मको लागि यही सुविधामा राख्न सकिने भन्दै त्यो भन्दा माथि व्यवस्थापनमा भने समस्या हुन सक्ने उनको भनाई छ । सिद्धार्थ कयाम्पसको सभाहल र बिभिन्न कक्षाहरु अहिले क्वारेनटाइनको लागि प्रयोग भएका छन् ।

सिमामा अलपत्र अवस्थामा रहेका आफ्ना नागरिक खोज्न नगरप्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल नै बनेको छ । उक्त कार्यदलले बिभिन्न स्थानमा अलपत्र परेकालाई धमाधम क्वारेनटाइनसम्म ल्याउने गरेको छ । बुधबार मात्रै वडा नम्बर ३ गंगौलीका ३ जनालाई खुनुवा नाकाबाट उद्धार गरि त्यहाँ ल्याइएको छ । उनीहरु नौतुनवा नजिकैको एक सहरबाट पैदल र ट्रक गरी खुनुवासम्म आएका थिए । परिवारले आफ्ना सन्तानको उद्धार गरिदिन आग्रह गरेपछि उनीहरुलाई भेटाउन सफल भएको सोही वडाका वडा सदस्य कुलबहादुर सोमैले बताए ।

उनीहरुलाई पनि तुरुन्त त्यहाँ बयवस्थापन गरिएको छ । उनीहरु आफ्नो देशको माटोमा टेक्न पाएको र आफ्नै नगरपालिकाको क्वारेनटाइनमा आउन पाएकोमा निकै खुसी देखिन्थे । ती तिन युवकले ५ दिनसम्म आफूहरुले पेटभरी खान नपाएको समेत गुनासो गरेका छन् ।

क्वारेनटाइनमा बसेकाको सुरक्षाको लागि सुरक्षा कर्मी नै खटाइएको छ । रातको समयमा शौचालय जाँदा आउँदा र अन्य स्थितिमा सुरक्षाकर्मीले उनीहरुको निगरानी गर्ने गर्दछन् । यस्तै जनप्रतिनिधि, स्वास्थ्य अधिकृतहरुले पछिल्लो समय त्यहाँ निकै ध्यान दिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । पौडेलले अब उनीहरुको वैशख ५ गते स्वाब संगलन गरी रिपोर्ट पठाइने र आवश्यक मापदण्ड अनुसार डिस्चार्ज गरिने बताए । क्वारेनटाइनमा रहेकामध्ये केही दीर्घ विरामी परेकाले पनि थप चुनौति रहेको उनले जानकारी दिए । क्वारेनटाइनमा रहेकाको परिवारलाई कुनै चिन्ता नगर्न पनि उनको आग्रह छ । कपिलवस्तु जिल्लामा बुधबारसम्म ३० जना कोरोना संक्रमित भेटिए पनि बाणगंगा नगरका कोही पनि नपरेकाले यहाँ थप सतर्कता अपनाइएको छ । यसको लागि नगरले औषधीबाहेकका कुनै सेवा सञ्चालन हुन नपाउने भन्दै जेठ १ गतेसम्मको लागि नगरलाई सिल गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  ५ : १२ बजे