१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

क्वारेनटाइनबाटै कपिलवस्तुमा संक्रमण फैलियो, कोरोना उत्पादन गर्ने कारखाना बन्ने खतरा !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि क्वारेनटाइनमा बसेका सवैको पिसिआर टेष्ट अनिवार्य भएको छ । शुरुमा आरडिटीबाट परिक्षण हुँदै आएपनि कोरोनाको उच्च जोखिम भएपछि कपिलवस्तुमा क्वारेनटाइनमा रहेका सवैको पिसिआर टेष्ट अनिवार्य भएको हो ।

स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य अधिकृत राम बहादुर नेपाली सहितको ४ सदस्यीय टोलीले कपिलवस्तुमा कोरोनाको संक्रमण बढेपछि मुख्य गरी ‘केस इन्भेस्टीगेशन’ र ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को काम कसरी भैरहेको छ र कसरी गर्न सकिन्छ भनेर अनुगमन गरेको छ ।

कोरोना पोजेटिभ भेटिएपछि जिल्लाका स्वास्थ्यकर्मीलाई ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को महत्व र यो कसरी गर्न सकिन्छ भन्नेबारे अभिमुखीकरण समेत टोलीले गरेको छ ।

विज्ञ सहितको उक्त ४ सदस्यीय टोलीले कपिलवस्तुको ३ वटा क्वारेनटाइनको अनुगमन समेत गरेको छ । जिल्लामा ३ वटा पालिका स्तरमा निर्माण भएका क्वारेनटाइन मापदण्ड अनुसार नरहेको विज्ञको ठहर छ । मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकामा निर्माण भएका क्वारेन्टाइन निरिक्षण गर्दा मापदण्ड अनुसार नभएको पाइएको टोलीले जनाएको छ ।

जिल्लामा क्वारेनटाइनबाटै कोरोना संक्रमण फैलिन सक्ने उच्च सम्भावना रहेको टोलीले निरिक्षणका क्रममा भेटाएको छ । जसले गर्दा कोरोना संक्रमणको उच्च जोखिमको केन्द्र क्वारेनटाइन हुन सक्ने टोलीको चेतावनी छ । यी क्वारेनटाइनहरु तत्काल सुधार नगरे कोरोना पोजेटिभ भेटिएका व्यक्तिबाटै अन्यमा समेत संक्रमण फैलिन सक्ने विज्ञहरुको चेतावनी छ ।

‘क्वारेनटाइनहरु क्राउडेड छन्, ७० देखि २ सय बढी व्यक्ती एउटै क्वारेनटाइनमा बसेका छन्, स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत राम बहादुर नेपालीले भन्नुभयो, ‘तिनै क्वारेनटाइनमा बसेका व्यक्तिहरुमा कोरोना पोजेटिभ भेटिएको छ, जसका कारण कोरोना संक्रमण उच्च हुने जोखिम छ, ।’

क्वारेन्टाइनमा एउटै धारा, एउटै शौचालय प्रयोग गर्दा संक्रमणको उच्च जोखिम बढेको छ, ‘अधिकृत नेपालीले भन्नुभयो ।’ उहाँले क्वारेनटाइन कोरोना उत्पादन गर्ने कारखाना नबनोस्, सामाजिक दुरी कायम राखेर धेरै भन्दा धेरै क्वारेन्टाइन बनाउन सुझाव दिएको बताउनु भयो । क्वारेनटाइनमा राखेका एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भनेर सवैलाई सुझाव दिइएको जनाउनुभयो ।

मुख्यगरी क्वारेनटाइन निर्माण गर्दा सामाजिक दुरी कायम गरेर कम खर्चमा बनाउन सकिने विज्ञको सुझाव छ । गर्मीको समय भएकाले धेरै हाइफाई नगरी सामान्य मेट राखेर व्यक्ति बीचको दुरी कायम गरी क्वारेनटाइन बनाउन सकिने बताइएको छ । आफ्नो अवस्था हेरेर हाइफाई भन्दा पनि सस्तोमा सामाजिक दुरी कायम गरेर सुरक्षित बनाउनुपर्ने टोलीले बताएको छ ।

पोजेटिभ देखिनु अघि र पछि उनीहरु को-कोसंग सम्पर्कमा आए भन्ने कुराको जानकारी राख्ने गरिन्छ । कपिलवस्तुमा २८ जनामा कोरोना संक्रमित व्यक्ति क्वारेनटाइनमा बस्दै आएका थिए । १ जना स्वास्थ्यकर्मी बाहेक अरु सवै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएकाले ‘कन्टयाक्ट ट्रेसिङ्ग’ को काम गर्न अलि सहज भएको अनुगमन टोलीको भनाई छ ।

एक जना स्वास्थ्यकर्मीको हकमा भने अलि जटिल हुने बताइएको छ । अस्पतालका कर्मचारी, उहाँसंग सम्पर्कमा आएका व्यक्तिहरु र सेवा लिएका विरामीहरुको समेत कन्टयाक्ट ट्रेसिङ्गको काम गर्नुपर्ने स्वास्थ्य अधिकृत नेपालीले बताउनुभयो । अनुगमन पछि स्वास्थ्यकर्मी र जनप्रतिनिधी, जिल्ला स्थित अधिकारीसंग वैठक बसेर आवश्यक सुधारका लागि सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  २ : ३८ बजे