मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका १० स्थानीय तह मध्ये ५ पालिका कोरोना संक्रमणबाट प्रभावित भएका छन् । पछिल्लो एक हप्तामा जिल्लाका ५ स्थानीय तहमा २९ जना कोरोना संक्रमित थपिएका हुन् । बुधबार विहान यो समाचार तयार पार्दासम्म कपिलवस्तुको पश्चिमी क्षेत्रमा अझै कोरोना संक्रमण देखिएको छैन् ।
भारतीय सिमावर्ती कृष्णनगर, महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिका आजका मितिसम्म सुरक्षित छन् । मुख्य व्यापारिक केन्द्र शिवराज नगरपालिका पनि कोरोनाबाट सुरक्षित नै देखिएको छ । यद्यपि यी स्थानीय तहमा बनेका क्वारेनटाइनमा बस्नेको संख्यामा भने बृद्धि छ । केही दिन यता यी पालिकाबाट स्वाब संकलन गरी काठमाडौं पठाइएको भएपनि रिपोर्ट अझै आइसकेको छैन् ।
कोरोनाबाट जिल्लाको पूर्वी क्षेत्र प्रभावित भैसकेको छ । मायादेवी गाउँपालिकाबाट देखिन थालेको संक्रमण पछिल्लो समय कपिलवस्तु नगरपालिकासम्म आइपुगेको छ । अहिलेसम्म मायादेवीसंगै शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकामा संक्रमण देखिएको छ ।
जसमा मायादेवी गाउँपालिकामा ४, शुद्धोधन गाउँपालिकामा १, बुद्धभूमि नगरपालिकामा ४, कपिलवस्तु नगरपालिकामा ८ र यशोधरा गाउँपालिकामा १२ जना संक्रमित भेटिएका छन् । यी स्थानीय तह एकआपसमा जोडिएका क्षेत्र हुन् । जिल्लाको पूर्वी क्षेत्रमै रहेको वाणगंगा भने बुधबार विहानसम्म सुरक्षित छ ।
यो नगरपालिकाले तीन दिने कडा लकडाउन गरेको छ । औषधि पसल बाहेक अरु सबै क्षेत्र बन्द गराएको छ । छिमेकी स्थानीय तहहरुमा कोरोना संक्रमित भेटिएपछि यहाँ थप संक्रमण नफैलियोस भन्नका लागि नगर सिल गरिएको हो ।
फोटोः तस्बीरमा देखिएका कार्यालय पश्चिमी क्षेत्रका स्थानीय तह हुन् । जुन कोरोनाबाट सुरक्षित छन् ।
प्रतिक्रिया