एजेन्सी ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बन्द रंगशालामा क्रिकेट खेल्दा उत्साहजनक माहोल नहुने बताएका छन् । कोरोना भाइरसका कारण खाली मैदानमा प्रतियोगिता आयोजना गर्ने चर्चाका बीच कोहलीले भरीभराउ दर्शकसहितको मैदानमा जस्तै बन्द रंगाशालामा माहोल नहुने बताए ।
“मैले यस विषयमा धेरै सोचें । यो स्पष्ट रूपमा एक सम्भावित स्थिति हो । यो सम्भव पनि होला,” कोहलीले भने, “तर, इमान्दारिताका साथ भन्ने हो भने मलाई बिनासमर्थक खेल्ने बानी परेको छैन । हामी मैदानमा समर्थकको हौसलाले ऊर्जा प्राप्त गर्दछौं ।”
उनले थपे, “चोहे हामी अरू कुनै देशमा खेल्छौं । जहाँ दर्शक हाम्रोविरुद्ध हुन्छन् । त्यस्तो अवस्थामा पनि हामीलाई अन्य टोलीविरुद्ध खेल्न ऊर्जा प्राप्त हुन्छ । यसबाट हामीलाई अर्कै प्रकारको दृढता मिल्छ । किनकि त्यस्तो अवस्थामा तपाईं विपरीत टोलीको खेलाडीसँग मात्र खेल्दै हुनु हुन्न । स्टेडियममा रहेका दर्शकविरुद्ध पनि खेल्नु हुन्छ ।”
खाली स्टेडियममा प्रतियोगिता आयोजना गर्न सकिए पनि दर्शकाको अभाव खड्की रहने उनले बताए । उनले यदि बिना दर्शक मैदानमा क्रिकेट खेल्नु पर्ने अवस्था आए आफूलाई धेरै कठिनाइ हुनेसमेत बताए ।
प्रतिक्रिया