काठमाण्डौँ ।
नेपालमा कोरोना संक्रमित बढेको र पत्रकारमा पनि कोरोना संक्रमण देखिएपछि गृहमन्त्रालयले पत्रकारको हकमा पनि कडाई गरेको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गर्दै पत्रकारको हकमा पनि कडाई गरेको हो ।
अब पत्रकार बाहिर हिँँड्दा सूचना विभागको आधिकारिक परिचयपत्र (रातो कार्ड) बोकेर हिँड्नु पर्ने छ । गृह मन्त्रालयले यो नियम लागु गरेसंगै अब पत्रकारसंग रहेको संचार गृहको कार्डले काम गर्ने छैन ।
मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भन्नुभयो ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
प्रतिक्रिया