१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दुईदिने जुम्ल्याहाको पनि स्वाब निकालियो



दाङ ।
कोरोना संक्रमणको आशंकामा दाङमा पहिलो पटक २ दिने जुम्ल्याहा बालिकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब लिइएको छ । भारतबाट आएर तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा बसेकी महिलाबाट जन्मिएका ती बच्चाको स्वाब लिइएको तुलसीपुर उपमहानरका कोभिड-१९ फोकल पर्सन बिमल केसीले बताए ।

नेपालमा अहिलेसम्म स्वाब परिक्षण गरेको मध्ये ती शिशु नै सबैभन्दा सानो उमेरको भएको समेत उनले बताए । उनीहरुको तौल कम भएका कारण तुल्सी हस्पिटलको एनआइसियुमा राखेर उपचार भइरहेको पनि समेत फोकल पर्सन केसीले बताए । उनीहरुको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ ।

हस्पिटलमा उपचाररत बालिकाको स्वाब संकलन गरेर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको तुलसी अस्पतालका सञ्चालक एवं नवजात शिशु तथा बालरोग विशेषज्ञ किशोर खत्रीले बताए । बिहीबार क्वारेन्टाइनमा बसेकी तुलसीपुर १३ की अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार राति जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यसैगरी यावदको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ५ : ०२ बजे