९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमिमा ४ जना कोरोना संक्रमितः बढाइयो क्वारेनटाइन बेडको संख्या, नगर पूर्ण सिल !



मायादेवी अनलाइन, चारनम्बर ।
एकै दिन चार जना कोरोना संक्रमित भेटिएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले क्वारेनटाइन बेडको संख्या बढाएको छ । नगरका १० वडा मध्ये दक्षिणी क्षेत्रका वडामा एक/एक सयका दरले बेड संख्या बढाइएको छ भने उत्तरी क्षेत्रका वडामा ५०/५० का दरले बेड संख्या बढाइएको हो ।

भारतबाट लुकिछिपी नगर भित्रनेको संख्या बढेको कारण क्वारेनटाइनको बेड संख्या बढाएको नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । सोमबार दिउँसो बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले यो निर्णय गरेको उहाँले जनाउनुभयो ।

नगरको वडा नं. ७ कोरोनाबाट बढी प्रभावित बनेको छ । यस वडामा तीन जना संक्रमित भेटिएका छन् भने वडा नं. १० मा एक जना संक्रमित भेटिएका छन् । यी पाँचै जना गोरुसिंगेमा अवस्थित गौतम बुद्ध माविको क्वारेनटाइनमा रहेको र यहाँबाट स्वाव संकलन गर्ने क्रममा कोरोना देखिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरभित्र २ सय २५ जना क्वारेनटाइनमा रहेका छन् । यो संख्या मंगलबार बढ्ने अनुमान छ । अब भारतबाट आउनेहरुलाई सम्बन्धित वडामा रहेको क्वारेनटाइनमा राखिने र त्यसै अनुसार वडाध्यक्षलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

संक्रमितको संख्या बढेपछि नगरपालिकालाई पूर्ण रुपमा सिल गरिएको छ । नगरभित्र अत्यावश्किय सवारीसाधन बाहेक अरु चल्न पूर्ण बन्द गरिएको छ भने पसल, व्यवसाय पनि बन्द गरिएको छ । नगर भित्र कुनै नयाँ व्यक्ति आए तत्काल नगरलाई खबर गर्न र नजिकको क्वारेनटाइनमा पठाउने गरी भूमिका खेल्न नगरबासीलाई आग्रह गरिएको छ ।

यसैबीच नगरपालिकाले दशगजामा अलपत्र परेका नागरिकलाई उद्धार गरी क्वारेनटाइनमा राख्ने भएको छ । नगरबासी कुनै ठाउँमा अलपत्र परेको भए जानकारी दिन नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुलाई बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  १० : ३६ बजे