८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५१ हजार बढी, मृत्युदर घट्दो



काठमाडौं ।
विश्वभर नै कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै गएको छ । गएको २४ घण्टामा विश्वभर यसको संक्रमणबाट ३२ सय ७९ को मात्रै मृत्यु भएको छ । संक्रमितको संख्या पनि तुलनात्मक रुपमा घट्न थालेको छ ।

संक्रमणबाट आक्रान्त अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका देशमा विगत केही दिनदेखि मृत्यु हुनेको संख्या घट्न थालेको वर्ल्डओमिटरले जनाएको छ ।

गएको २४ घण्टामा अमेरिकामा यसको संक्रमणबाट ९ सय ९९ जनाको मात्रै मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ३९६, फ्रान्समा २६३, बेलायतमा २१०, स्पेनमा १२३, इटालीमा २७९, क्यानाडामा १२३, मेक्सिकोमा ११२, रुसमा ९८, जर्मनीमा ९२ जनाको मृत्यु भएको छ ।

सोमबार अमेरिकामा १८ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी बेलायतमा ३८ सय ८७, स्पेनमा ३४ सय ८०, रुसमा ११ हजार ६ सय ५६, इटालीमा ७ सय ४४, फ्रान्समा ४५३, जर्मनीमा ६९७, ब्राजिलमा ५६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख ८७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ४२ लाख ५१ हजार नाघेको छ ।

सोमबार विश्वभर ७३ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन । अहिलेसम्म विश्वरभ १५ लाख २५ हजार भन्दा धेरै संक्रमित उपचारपछि ठिक भएका छन् ।

यसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुक अमेरिका हो । त्यहाँ अहिलेसम्म मृतकको संख्या ८१ हजार ७ सय ८६ पुगेको छ ।

त्यसैगरी हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृतकको संख्या २२ सय ९४ पुगेको छ ।

सोमबार एकै दिन त्यहाँ ३६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । भारतमा अहिलेसम्म २२ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

पाकिस्तानमा गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ६६७ पुगेको छ । संक्रमितको संख्या ३० हजार ९ सय ४१ पुगेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ७ : ५६ बजे