१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आजदेखि सिंगो कपिलवस्तु जिल्ला पूर्णतया ‘सिल’, वाणगंगामा झन कडा !



मायादेवी अनलाइन, चारनम्बर ।
अनपेक्षित तरिकाले कोरोना संक्रमित बढेपछि मंगलबार देखि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि जेष्ठ ५ गतेसम्मलाई जिल्ला सिल गरेको हो । सोमबार एकै दिन जिल्लामा १६ जना कोरोना संक्रमित भेटिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

प्रशासनले जनाए अनुसार अब खाद्यान्न, तरकारी, फलफुल, दूध पेट्रोलियम पदार्थ, ग्याँस, औषधी पानी पशुपंक्षीको दाना, एम्बुलेन्स, शव बाहनका सवारी बाहेक अरु चल्न पूर्ण प्रतिबन्ध हुने छ । यी सवारी जिल्ला हुँदै आवातजावत गरेपनि बाटोमा यात्रु बसाल्न र ओराल्न पाउने छैनन् ।

यता प्रशासनले उद्योगधन्दा, कलकारखाना, निर्माणसंग सम्बन्धित कार्यहरु, व्यापार व्यवसाय आदिलाई पूर्ण रुपमा रोक लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २ (१) बमोजिम यो निर्णय गरिएको प्रशासनको भनाई छ । साथै खाद्यान्न तथा तरकारी किनमेलका लागि ७ बजेदेखि ९ बजेसम्मका लागि खुल्ला रहने पनि प्रशासनले स्पष्ट पारेको छ ।

वाणगंगामा झन कडा

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गरेको जिल्ला सिल भन्दा अझै कडा नगरपालिका भित्र वाणगंगाले गर्ने भएको छ । सोमबार दिउँसो बसेको नगर कार्यापालिका बैठक र नगरभित्रका सरोकारवालासंगको छलफल पछि नगरपालिका तीन दिन पूर्णतया सिल गर्ने निर्णय भएको हो । कपिलवस्तुमा कोरोना भाइरसको जोखिम उच्च भएको र त्यसको मारमा बाणगंगा पनि पर्न सक्ने भन्दै यस्तो निर्णय गरिएको नगर उपप्रमुख चक्र अर्यालले मायादेवी अनलाइनलाई बताउनु भयो ।

सोमबार मध्यरातिबाट नगर सिल भएको अर्यालले जानकारी दिनुभयो । कपिलवस्तुमा कोरोनाको उच्च जोखिम बढीरहेकाले नगरमा थप जोखिम नहोस भन्नका लागि नगर सिल गरिएको उप प्रमुख अर्यालले बताउनुभयो । जेष्ठ १ गतेसम्मका लागि नगर सिल हुने उहाँको भनाई छ । नगरलाई तिन दिन शिल गर्ने निर्णयमा कपिलवस्तु उद्योग बाणिज्य संघले पनि ऐक्यवद्धता जनाएको छ ।

यो निर्णयसंगै सोमबार मध्यराति १२ बजेदेखि जेठ १ गतेसम्म औषधीबाहेकका कुनै पनि सेवा संचालन हुन पाउने छैनन् भने नगरमा अब बाहिरी आवागमन पनि ठप्प हुने जनाइएको छ । कोही पनि नगर प्रवेश गर्न पाउने छैनन् र कोही पनि बाहिर जान पाउने छैनन् ।

विरामी बोकेका एम्बुलेन्स भने निर्वाध रुपमा चल्न पाउने छन् । यस्तै बैङ्क, वित्तिय संस्था, बिमा कम्पनी, उद्योगधन्दा, कलकारखाना, सहकारी सबै पूर्ण रुपमा बन्द हुने छन् ।

यसअघि दूध, तरकारी, फलफुल ग्याँस, किराना आदिका अत्यावश्यकीय पसल संचालन भएको भए पनि अब जेठ १ गतेसम्म यी सबै ठप्प हुने उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ६ : ०७ बजे