१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश ५ मा पुगे ५३ जना कोरोना संक्रमित, बर्दियामा पहिलो पटक देखियो संक्रमण



मायादेवी अनलाइन, तौलिहवा ।
पछिल्लो समय प्रदेश ५ का जिल्लाहरुमा कोरोनाको संक्रमण दर बढ्न थालेको छ । सोमबार विहान, दिउँसो र साँझ गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार प्रदेश ५ का तीन जिल्लामा गरी २३ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये कपिलवस्तुका १६, रुपन्देहीका ६ र बर्दियाका १ जना रहेका छन् ।

प्रदेश ५ को बर्दियामा पहिलो पटक कोरोना संक्रमित भेटिएकी छिन् । रुपन्देहीमा एक जना मात्र रहेका कोरोना संक्रमितको संख्या बढेर सोमबार ७ पुगेको छ । सोमबार एकै दिन साँझ ६ जना संक्रमित थपिएका हुन् ।

रुपन्देहीमा देखिएका कोरोना संक्रमित सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक नगरपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष रहेका छन् ।

बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

यता कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का ४ जना र वुद्धभूमि नगरपालिका ७ का २ जनामा कोरोना देखिएको छ । उनीहरुको उमेर १५, १९, २३, ३०, ३२ र ३८ वर्षको रहेको छ । उनीहरु सबै पुरुष हुन् । सोमबार विहान पनि यशोधरामा ८ र बुद्धभूमिमा २ जना संक्रमित भेटिएका छन् ।

यससँगै प्रदेश ५ मा संक्रमित हुनेको संख्या ५३ पुगेको छ भने संक्रमित भेटिने जिल्लाको संख्या तीनबाट बढेर चार पुगेको छ । सोमबार दिउँसो सप्तरीका एक जना युवामा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  ९ : ४४ बजे