मायादेवी अनलाइन, चारनम्बर ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा फैलनेक्रम तीव्र छ । कर्णाली प्रदेश बाहेक अन्य ६ प्रदेशमा फैलिसकेको कोरोनाको पछिल्लो नयाँ इपिसेन्टर कपिलवस्तु बनेको छ । चार दिनको अवधिमा कपिलवस्तु जिल्लामा २१ संक्रमित भेटिएका छन् ।
सोमबार मात्र जिल्लामा १७ जना कोरानाका नयाँ संक्रमित थपिएपछि कपिलवस्तु कोरोनाको पछिल्लो इपिसेन्टर बनेको हो ।
सोमबार थपिएका मध्ये यशोधरा गाउँपालिकाका र बुद्धभूमि नगरपालिकाका रहेका छन् । सोमबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थपिएका संक्रमित मध्ये ४ जना यशोधरा गाउँपालिका वडा नं. ८ (साविक सिंहखोर गाविस)का रहेका छन् भने बुद्धभूमि नगरपालिका वडा नं. ७ (साविक मानपुर गाविस)का दुई जना रहेका छन् ।
विहान भेटिएका १० जना मध्ये ८ जना यशोधराका थिए भने दुई जना बुद्धभूमिका थिए । यसैबीच कपिलवस्तुमा कोरोनाको जोखिम उच्च देखिएको छ ।
यस अगाडि जिल्लाकै मायादेवी गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना देखिएको थियो । यससंगै जिल्लाका १० पालिका मध्ये ४ पालिकामा कोरोना फैलिसके पछि त्रास सिर्जना भएको छ ।
दशगजामा अलपत्र परेका नागरिकहरुको व्यवस्थापन हुन नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको हो । लुकिछिपी चोर बाटो हुँदै भारतबाट आएका नेपालीहरु गाउँ गाउँ छिर्दा यो समस्या उत्पन्न भएको सरोकारवाला बताउँछन् । समयमा सिमाका अलपत्र नागरिकको व्यवस्थापन गर्न नसक्ने हो भने जिल्लाको अवस्था भयावह हुन सक्ने भन्दै चिन्ता गर्न थालिएको छ ।
मानवअधिकारकर्मी रवि ठाकुरले दशगजामा सयौं व्यक्ति अलपत्र पर्नु र दर्जनौं व्यक्ति रातारात कपिलवस्तु छिर्नुने जिल्ला कोरोनाको उच्च जोखिममा रहेको बताउँनुहुन्छ । कोरोना जोखिम न्यूनिकरणका लागि प्रशासनले दशगजामा अलपत्र नागरिकको तत्काल व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । जिल्ला सिल समस्याको समाधान नभएर अलपत्र नागरिकको व्यवस्थापन नै कोरोनाको जोखिम कम गर्ने एक मात्र उपाय भएको ठाकुरको ठहर छ ।
प्रतिक्रिया